कलैया,बारामा सञ्चालित रिलायन्स सुगर एण्ड केमिकल इन्डस्ट्रिजले उखु आपूर्ति अस्तव्यस्त बनेपछि कारखानाबाट चलान प्राप्त भएपछि मात्रै मिलमा उखु ल्याउन किसानहरुसंग आग्रह गरेको छ ।कलैया उपमहानगरपालिका– २४ श्रीपुरस्थित चिनी मिलका महाप्रबन्धक गौरव सिलोडियाले किसानले कारखानाबाट चलान नलिई ट्र्याक्टर तथा ट्रकमार्फत मिल परिसरमा उखु ल्याउँदा मिल तथा यातायात व्यवस्थापनमा समस्या उत्पन्न भइरहेको उल्लेख गर्दै किसानहरुलाई अनलाइन टोकन प्रणालीमार्फत मात्र चलानी पत्र पाएपछि मात्र उखु पठाउन आग्रह गर्नुभयो ।

उहाँले आगामी ४ महीनासम्म मिल सञ्चालनमा रहने र खेतमा कसैको पनि उखु सुक्ने अवस्था आउन नदिने भएकोले चिन्ता नलिन पनि किसानहरुसंग आग्रह गर्नुभएको छ ।
मिलका उखु प्रबन्धक अवध झाले पनि खुट्टी उखु आपूर्ति मिलको क्यालेन्डर अनुसार हुने भएकाले बिना चलान उखु ल्याउँदा उखु र ढुवानीका साधन व्यवस्थापनमा कठिनाइ हुने बताउनुभयो । उहाँले बिना चलान आएका गाडीहरु यार्डभित्र प्रवेश नदिइने र सडकमा समेत राख्न नपाइने स्पष्ट पार्नुभयो ।किसानहरुलाई टोकन गेटको दक्षिणतर्फ रहेको चौरमा गाडी पार्किङ्ग गर्न पनि मिलले आग्रह गरेको छ । प्रबन्धक झाका अनुसार खुटी उखुको क्रसिङ्ग सम्पन्न भएपछि मात्रै मोरहन उखुको क्रसिङ्ग सुरु गरिनेछ ।हाल मिलमा बाराबाट करिब ७० प्रतिशत र पर्साबाट ३० प्रतिशत उखु आपूर्ति भइरहेको छ । पछिल्लो २ सातादेखि नियमित रुपमा सञ्चालनमा आइको सो मिलले हालसम्म करिब पाँच लाख क्विन्टल उखु क्रसिङ्ग गरिसकेको जनाइएको छ ।मिलले दैनिक झण्डै ३० हजार क्विन्टल उखु क्रसिङ्ग गरिरहेको छ ।

Leave a Reply