पुष्पराज खतिवडा
मनहर्वा,कलैया उपमहानगरपालिका वडा नं.२२ मटेरियामा रहेको साना किसानन कृषि सहकारी संस्था लिमिटेड भोडहाको १७औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।शनिवार भोडहास्थित तपी माध्यमिक विद्यालय परिसरमा भएको सहकारी संस्थाको बार्षिक साधारणसभाको साना किसान कृषि सहकारी संघ लिमिटेड बाराका अध्यक्ष मिश्रीलाल सहनीले उद्धाटन गर्नु भएको थियो ।कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका सहकारी संघका अध्यक्ष सहनीले साना किसान सहकारीहरुले कृषि उत्पादन वृद्धि र बजारीकरणमा गरिरहेको कामको प्रशंसा गर्नु भयो ।जिल्लामा रहेका १६ वटा साना किसान कृषि सहकारीहरुले बचत तथा ऋणको कारोबार मात्रै नभएर कृषि उत्पादन वृद्धि र बजारीकरणको कामसमेत गरिरहेको उहाँले बताउनु भयो ।सहकारीहरुले बिउ उत्पादन, कृषि पसल संचालन, दुध संकलन र बिक्री, धानगहुँको भण्डारण जस्ता काम गरिरहेको उहाँले जानकारी दिनु भयो । सहकारी संस्थाहरुले आफू र आफ्नो पहलमा काम गरिरहे पनि स्थानीय सरकारको साथ र सहयोग भने नरहेकोमा दुखेसो पोख्नुभयो ।‘राज्य र राज्यका निकायहरुबाट सहयोग हुने हो, भने सहकारीहरुले कृषि क्षेत्रमा धेरै गर्न सक्ने थिए, उहाँले भन्नुभयो, तर ३ वटै तहका सरकार कृषि र सहकारीमा लगानी गर्न चाहँदैन । जुन दुखद अवस्था हो ।’ उहाँले राज्यको नीति सहकारीमैत्री नभएको पनि गुनासो गर्नुभएको थियो ।
कार्यक्रममा साना किसान कृषि सहकारी संघ बाराकी उपाध्यक्ष नयनकला खड्का, कलैया उपमहानगरपालिका वडा नम्बर २१ का अध्यक्ष शिवबिहारी चौधरी, वडा नम्बर २७ का अध्यक्ष अशोककुमार तिवारी, वडा नम्बर १५ का भोरिकप्रसाद यादव, वडा नम्बर २२ शिवचन्द्र कामी, पूर्ववडा अध्यक्ष पुनदेवप्रसाद रौनियार, लालबाबु यादव, शिवचन्द्रप्रसाद यादव लगायतकाले बोल्नु भएको थियो ।८ सय १० जना सदस्य रहेको संस्थाले १४ करोड ७२ लाख रुपैंयाको कारोबार गर्दै आएको जनाएको छ । संस्थाले भोडहा बजारमा दुध संकलन तथा बिक्री केन्द्र समेत संचालन गर्दै आएको छ ।संस्थाले बार्षिक साधारण सभाको अवसरमा एक दर्जन सदस्य, जेष्ठ नागरिक र विद्यार्थीलाई सम्मान गरेको छ । सभामा प्रस्तुत भएका संस्थागत र लेखापरीक्षण प्रतिवेदन, बजेट तथा आगामी कार्यक्रम सुझावसहित पारित भएको छ ।संस्थाका अध्यक्ष बिन्दा सिंंह राजपुत अस्वस्थ भई उपचारमा रहेकाले बार्षिक साधारणसभा संस्थाका उपाध्यक्ष राजेन्द्र चौधरीको अध्यक्षता भएको थियो । यस्तै संचालक समितिका सदस्य सलाउदिन मियाँ अंसारीको स्वागत एवं प्रबन्धक नगिनाप्रसाद साहको संचालनमा सम्पन्न बार्षिक साधारणसभा भएको थियो ।

Leave a Reply