मनोज शाह
जीतपुर,लामो समयदेखि बाराको जीतपुरसिमरा ७ स्थित जीतपुर बजारमा व्यापार गर्दै आएका राजकुमार साहको पसलमा एक सातादेखि बोहनी हुन सकेको छैन ।व्यापारबाट घर परिवार र बैंकको कर्जा तिर्दै आउनु भएको साह बोहनी नहुँदा ठूलो मर्कामा पर्नु भएको छ । एक सातादेखि पसलमा बोहनी समेत नहुँदा बैंकको ऋण, घर भाडा कसरी तिर्ने र घर परिवार कसरी चलाउने भन्ने चिन्ताले साह तनावमा पर्नुभएको छ ।‘आर्थिक मन्दी’का कारण पसलमा कारोबार घटन थालेपछि साह जस्तै जीतपुर बजारका अन्य व्यवसायीहरु चिन्तामा परेका छन । बजारमा सर्वसाधारणको चहलपहल देखिए पनि व्यापारमा भने खासै सुधार आउन नसकेको साह बताउँनुहुन्छ ।जीतपुरको केराडोक चोकका अर्का व्यापारी प्रमोद साहले पनि आर्थिक मन्दीका कारण बजारमा उपभोक्ताहरुको चहलपहल कम भएको र व्यापारमा उत्साह नदेखिएको बताउँनुभयो । उहाँले पनि व्यापार नहुँदा पसलको घरभाडा र बैंकको कर्जा तिर्न तथा परिवारको गुजारा चलाउन मुश्किल भएको गुनासो गर्नुभएको छ ।अर्थतन्त्रमा आएको गिरावटको कारण आम उपभोक्ताहरुको क्रयशक्ति घटेकोले यस पटक दशैं, छठ जस्ता चाडपर्वमा पनि राम्रो कारोबार हुन नसकेको साहको भनाई छ ।कारोबार कम हुनथाले पछि बजार क्षेत्रका दर्जनौं व्यपारीहरु पेसाबाट पलायन भएका छन । खुल्ला सीमाको कारण अधिकांश उपभोक्ताहरु भारतीय बजारतर्फ आकर्षित हुनु, कोरोनाको प्रभाव लामो समयसम्म देखिनु, बैंकको ब्याज दर चर्को हुनु, अस्वाभाविक रुपमा घरभाडा बढ्नु लगायत कारणले जीतपुरसिमरा बजार क्षेत्रका १५० भन्दा बढी सटरहरु बन्द गरेर व्यापारीहरु पलायन भएका हुन ।आर्थिक मन्दी, बैंकको उच्च ब्याजदर, चर्को घरभाडा जस्ता कारणले व्यापार व्यवसायको गति सुस्ताएको छ ।जीतपरका अर्को व्यापारी जबेद खानको पीडा पनि उस्तै छ । उहाँले भन्नुभयो, ‘विगत तीन महिनादेखि व्यापार खस्केकाले बैंकको ऋण तथा घरभाडा तिर्न धौधौ परेको छ ।’जीतपुरसिमरा बजारमा पहिले पहिले दैनिक ५० लाखभन्दा बढीको व्यापार हुने गरेकोमा आर्थिक मन्दीको कारण हिजोआज दैनिक १० लाखको हाराहारीमा पनि व्यापार नभएको व्यापारीहरुले बताएका छन ।यहाँका ९५ प्रतिशत व्यापारीहरु बैंकबाट ऋण लिएर व्यापार गर्दैआएका छन । तर बैंकको ब्याज लिने नीति अव्यवहारिक र त्रुटीपूर्ण भएकोले व्यापार घाटा उच्च रहेको व्यापारीहरुको भनाई छ । विगतमा जीतपुरसिमरामा ८० प्रतिशत पहाडी समुदायका ग्राहक आउने गरेको र हाल पहाडी समुदायका मानिसहरु हेटौडा लगायत अन्य स्थानमा पलायन भएपछि यस क्षेत्रको व्यापारमा समेत हा्स आएको जीतपुरसिमराका अर्का व्यापारी बिष्णु रौनियार बताउँनुहुन्छ ।खस्कदो व्यापार प्रवद्र्धन गर्न चोरी तस्करी नियन्त्रण गर्नुपर्ने, करको दायरा बढाउनुपर्ने, व्यापारीहरुको हकहितलाई ध्यानमा राखी सरकारले बैंक ब्याज दर र कर घटाउनुपर्ने माग यहाँका व्यापारीहरुको छ ।१० हजार पसल रहेको जीतपरसिमरा उपमहानगरपालिका क्षेत्रमा आर्थिक मन्दीपछि व्यपारीहरु पलायन भएर अहिले करिब ७ हजार पसल मात्र चालु अवस्थामा रहेको बताइन्छ । बाँकी रहेका पसलहरु पनि आर्थिक मन्दीको चपेटामा परेको र यी पसलहरु पनि कहिलेबाट बन्द हुनेहुन कुनै टुंगो नभएको व्यापारीहरुको भनाई छ ।

Leave a Reply