राजन कुमार बानिया
पोखरिया,पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ५ मा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मसिहानीले कक्षा १२ उतिर्ण गरेका छात्र, छात्राहरुलाई सम्मान गरेको छ ।
नेरामावि मसिहानीका ७ जना छात्र, छात्राहरुलाई कार्यक्रमका प्रमुख अतिथि रहनु भएका गाउँपालिका अध्यक्ष श्रीकान्त यादवले खादा ओढाएर डायरी र कालम प्रदान गरी सम्मान गर्नुभएको हो । विद्यालयका छात्र, छात्राहरुलाई सम्मानित गर्दै अध्यक्ष यादवले गाउँपालिकाले शिक्षाको विकासलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयो ।
उहाँले गाउँपालिकामा पहिलादेखिनै शिक्षाको अवस्था कमजोर रहेको भन्दै गुणस्तर सुधारको लागि गाउँपालिकाले पहल गर्ने पनि बताउनुभयो । अध्यक्ष यादवले जगरनाथपुर गाउँपालिकामा रहेका सबै ३१ वटा विद्यालयको आफू निर्वाचित भएर आएपछि पटकपटक अनुगमन गरिसकेको पनि जानकारी दिनुभो । ‘कतै भवन छैन, कतै विद्यार्थी कम छन, कतै विद्यार्थीहरु बस्ने फर्निचरको कमी त कुनै विद्यालयमा शिक्षक दरबन्दी कमी छ, उहाँले भन्नुभयो, सबै विद्यालयहरुमा समस्या नै समस्या छन ।’ उहाँले आफू शिक्षाको विकासको लागि प्रतिवद्ध रहेको बताउदै चालू आर्थिक वर्षमा शिक्षा क्षेत्रको सुधारको लागि गाउँपालिकाबाट ३ करोड बजेट बिनियोजन गरेको पनि जानकारी दिनुभयो ।
कार्यक्रममा यस वर्षको परीक्षामा विद्यालयबाट विज्ञान विषयतर्फको पल्स टुमा ७५ प्रतिशत अंक ल्याउने छात्रा मेनिकाकुमारी चौधरीले सरकारी विद्यालयमा मन लगाएर र लगनशीलता भएर अध्ययन गर्ने हो भने निजी विद्यालयको जरुरी नभएको बताउनुभयो । सरकारी विद्यालयमा पढेर पनि सरकारी कर्मचारी र शिक्षक बन्न सकिने चौधरीको भनाइ थियो ।
विद्यालयका प्रधानाध्यापक नयाजुदिन मियाँको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष बबिता सिंह, प्रमुख प्रसाशकीय अधिकृत कृष्णानन्द राय, वडा अध्यक्ष बिहारी महतो नुनिया, गाउँपालिका शिक्षा शाखा प्रमुख लालदेव प्रसाद यादवलगायत सम्मानित हुने छात्र, छात्रालाई बधाई तथा शुभकामना दिनुभएको थियो ।