सिम्रौनगढ,शिक्षक आन्दोलनका कारण बाराको सिम्रौनगढ नगरपालिकाका सबै सामुदायिक विद्यालयहरु बिहीवारबाट बन्द भएका छन ।लामो समयदेखि तलब नपाएपछि आन्दोलनरत शिक्षकहरुले विद्यालय बन्द गरेर पठनपाठन ठप्प पारेका हुन । विद्यालय बन्द गरेका शिक्षकहरुले बिहीवारबाट नगरपालिका कार्यालयमा धर्ना शुरु गरेका छन । शिक्षकहरुले बुधवार नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत जयनारायणप्रसाद यादवलाई विद्यालयको साचो बुझाएर तलब नपाएसम्म विद्यालय बन्द गर्ने चेतावनी दिएका थिए ।तलबको माग राखेर अघिल्लो ७ सातादेखि शिक्षकहरुले प्रतिनिधिमूलक रुपमा नगरपालिका कार्यालयको गेटमा धर्ना दिदैआएका थिए । तर बिहीवारबाट भने नगरपालिकाका सबै शिक्षकहरु विद्यालय बन्द गरेर धर्नामा उत्रिएका हुन ।‘यसअघि पठनपाठन सुचारु गरेर धर्ना पनि दिदैआएका थियौं, शिक्षक संघ सिम्रौनगढ नगर अध्यक्ष उमाशंकर प्रसाद यादवले भन्नुभयो, हिजोबाट विद्यालय नै ठप्प पारेर नगरका सबै शिक्षकहरु धर्नामा बसेका छन ।’ अध्यक्ष यादवले आफूहरुको माग पुरा नभएसम्म विद्यालयमा पठनपाठन सुचारु नहुने बताउनुभयो ।सिम्रौनगगढ नगरपालिकाका पाँच वटा माध्यमिक, ३२ वटा सामुदायिक विद्यालमा १ सय ९० शिक्षक कर्मचारी कार्यरत छन ।



















