निजगढ,बारा जिल्ला स्तरीय आमन्त्रण तेक्वान्दो प्रतियोगिता शनिवार सम्पन्न भएको छ ।प्रतियोगितामा निजगढ नगरपालिका वडा नम्बर ७ मा रहेको आयोजक सत्यश्वर तेक्वान्दो डोजाङ्ग प्रथम, न्यु सिमरा तेक्वान्दो डोजाङ्ग द्वितीय र नेत्रोदय तेक्वान्दो डोजाङ्ग तृतीय भएका छन् ।बारा जिल्ला र छिमेकी रौतहट जिल्लाका गरि ८ वटा डोजाङ्गको सहभागिता रहेको रहेको सो प्रतियोगितामा पुरुषतर्फ १७ केजीदेखि ५९ केजी तथा महिलातर्फ २३ केजीदेखि ५५ केजी तौल समुहमा विभिन्न १९÷१९ वटा ईभेन्टमा प्रतिस्पर्धा सञ्चालन गरिएको सत्यश्वर तेक्वान्दो डोजाङ्गका अध्यक्ष जित सिंह लामाले जानकारी दिनुभयो ।
सबै ईभेन्टमा गरि महिला पुम्सेमा मुस्कान मुखिया र पुरुष पुम्सेमा सचिन योञ्जनले प्रथम स्थान हाँसिल गरेका थिए ।
प्रतियोगितामा विजयी टिम तथा खेलाडीहरुलाई निजगढ नगर प्रमुख सुरथ पुरी, वडा नम्बर ७ का वडा अध्यक्ष टेकबहादुर लामा, तेक्वान्डोका राष्ट्रिय कोच हेमलाल श्रेष्ठ, विजय शाह, मधेस प्रदेश तेक्वान्दो संघका महासचिव राजकुमार लामा, बारा जिल्ला अध्यक्ष चित्रबहादुर लामा, वडा नम्बर ७ का सदस्य भगवती घिमिरे, कविता लामा, सुभद्रा विश्वकर्मा, सत्यश्वर शिवशक्ति आधारभुत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद चौलागाई, प्रधानाध्यापक उमेशकुमार स्वर्णकार, समाजसेवी घनश्याम लम्साल लगायतले ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रममा बोल्दै नगरप्रमुख पुरीले खेल क्षेत्र पहिचान, अनुशासन, आत्मसम्मान र गौरवको क्षेत्र भएकोले यसको विकासका लागि नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । नगरपालिका क्षेत्रभित्र हुने विभिन्न खेल गतिविधिलाई व्यवस्थित र प्रभावकारी रुपमा अघि बढाउन नगरपालिकाले नगरस्तरीय खेलकुद विकास समिति गठनको तयारी पनि अघि बढाएको नगरप्रमुख पुरीको भनाई छ । कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको भन्दै प्रतियोगिता सञ्चालनका लागि सहयोग गर्ने सबैलाई रेफ्री पार्वती बस्नेतले धन्यवाद व्यक्त गर्नुभयो । निजगढ नगरपालिका वडा नम्बर ७ को सहयोगमा प्रतियोगिताको आयोजना गरिएको हो ।

Leave a Reply