जीतपुर,जीतपुरसिमरा उपमहानगरपालिकामा ‘ग’ र ‘घ’ वर्गका अपाङ्गता भएका र परिचय पत्र प्राप्त व्यक्तिहरुलाई समाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ ।
सहायक सामग्रीको सहयोगमा हिडडुल गर्न सक्ने अपाङ्गता भएका व्यक्तिलाई उपमहानगरले नगरकै स्रोतबाट प्रोत्साहन भत्ता वितरण गर्न सुरु गरेको हो । उपमहानगरपालिकाले शारीरिक अवस्था हेरी अपाङ्गता भएका ब्यक्तिलाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ गरी चार वर्गमा छुट्याएको छ । ‘क’, ‘ख’, वर्गमा अति अपाङ्गता भएका व्यक्ति पर्दछन् । उनीहरुलाई नेपाल सरकारले भत्ता उलपब्ध गराउदै आएको छ । क वर्गले चार हजार र ख वर्गका व्यक्तिले दुई हजार ६ सय भत्ता पाउदै आएका छन् । तर अपाङ्गता भए पनि पहिलो र दोस्रो वर्गमा नपरेका ग र घ वर्गका व्यक्तिलाई उपमहानगरले भत्ता दिन थालेको हो ।
उपमहानगरभित्र ८७ जनाले ग वर्ग र २४ जनाले घ वर्गको अपाङ्गता परिचयपत्र लिएका छन् । उपमहानगरले ग वर्गका व्यक्तिलाई सात सय र घ वर्गका व्यक्तिलाई पॉच सयका दरले मासिक भत्ता उलपब्ध गराउनेछ । भत्ता वितरणका लागि जीतपुरस्थित कुमारी बैंकले सहजीकरण गर्ने भएको छ ।
उपमहानगरपालिकाकी नगर उपप्रमुख सरस्वती चौधरीले कुमारी बैंकका शाखा प्रवन्धक कृष्ण पौडेललाई भत्ता वितरणका लागि चेक हस्तान्तरण गर्नुभएको छ । चेक हस्तान्तरण गर्दै चौधरीले अपाङ्गता भएका व्यक्तिलाई सहज ढंगबाट सेवा प्रवाह गर्न आग्रह गर्नुभयो । अपाङ्गता भएका व्यक्तिको मनोवल उच्च राख्न प्रोत्साहनस्वरुप भत्ता उलपब्ध गराउन थालेको चौधरीले बताउनुभयो ।
कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत चेतकुमार पोखरेलले सामान्य अपाङ्गता भएका व्यक्तिलाई सिप दिएर आत्मनिर्भर बनाउन जरुरी रहेको बताउनुभयो । सहायक सामग्रीको सहयोगमा हिड्डुल गर्न सक्ने अपाङ्गता भएका व्यक्तिले सिप सिकेर आफ्नो दैनिकीलाई व्यस्तता र व्यवसायिकतामा अघि बढाउन सक्ने पोखरलेलको भनाइ थियो ।
नेपाल अपाङ्ग सेवा संघ बाराका अध्यक्ष तथा नगरस्तरीय अपाङ्गता समन्वय समितिका सदस्य धनप्रसाद बजगाईले अपाङ्गता भएका व्यक्तिको मागलाई सम्बोधन गरेकोमा उपमहानगरपालिकाप्रति खुशी व्यक्त गर्नुभयो । आफ्नै स्रोतबाट प्रोत्साहनस्वरुप भत्ता उपलब्ध गराउने पहिलो पालिकाको रुपमा जीतपुरसिमरालाई आफूले पाएको बजगाईको भनाइ थियो ।
उहाँले अपाङ्गता भएका व्यक्तिलाई आत्मनिर्भर बनाउन सिपसहित आवश्यक सामग्री उलपब्ध गराउन जरुरी रहेको बताउनुभयो । विपन्न वर्गका अपाङ्गता भएका व्यक्तिले सिप सिके पनि प्राविध र सामग्रीको अभाव हुदा समस्या देखिएको बजगाईले बताउनुभयो ।
कार्यक्रममा कार्यपालिका सदस्य सुभद्रा न्यौपाने, अपाङ्गता समन्वय समितिका सदस्य डा. दीपक गिरी, उपमहानगरपालिकाका कर्मचारी सुदन चौधरी, सिमा यादवलगायतको उपस्थिति रहेको थियो ।