गएको हप्ता पश्चिम नेपालमा आएको भूकम्पले ठूलो जनधनको क्षति गरेपछि मानवीयताका हिसावले सहयोग गर्नेहरु बारा र पर्सामा पनि देखिएका छन् । भूकम्पले घरवार विहिन भएकाहरुका लागि सहयोग संकलन अभियान बारा र पर्सा क्षेत्रमा पनि संचालन गरेको देखिएको छ । विभिन्न संघ संस्थाहरुले सहयोगका लागि घोषणा समेत गरेका छन् भने सहयोगी मन भएकाहरुले सहयोग संकलन पनि शूरु गरेका छन् ।अहिले भूकम्प पीडितहरु एकदमै समस्यामा छन् । शोक अनि भोकका कारण उनीहरुलाई परेको समस्याको विषयमा अन्दाज समेत गर्न सकिने अवस्था छैन । त्यसो त नेपालीहरुमा सहयोगी भावना पनि छ । यस्तै विपत्तिका बेला नेपालीहरुले एक आपसमा सहयोग गरेर सेवाको भाव देखाउने गरेको र देखाउदै पनि आइरहेका छन् । फेरि एक पटक यो भावना देखाउन आवश्यक छ ।तर, सहयोगको नाउमा विकृति पनि बढेको देखिन्छ । भूकम्प पीडितहरुको नाउमा रकम उठाएर आफ्नो दुनो सोझ्याउनेहरुको ठूलै समूह समाजमा रहने भएकाले यसतर्फ भने सबै सचेत बन्न आवश्यक देखिन्छ । कतै न कतै उनीहरुले यो विपत्तिमा समेत फाइदा उठाउन खोजेको देखिन्छ । त्यसैले पनि सहयोगी मन भएकाहरुले यस्ता व्यक्ति वा समूहको पहिचान गरेर मात्रै सहयोग गर्दा उचित हुनेछ । भूकम्प पीडितहरुका लागि भन्दै राहत पनि घोषणा भएका छन् यो पनि चांडै पीडित समक्ष पुगोस् ।


















