बसन्त लामा
सिंगौल,राष्ट्रिय युवा संघ नेपाल निजगढ कमिटीले सहिद दिवसको अवसरमा स्वास्थ्य शिबिरको आयोजना गरेको छ ।
युवा संघले निजगढ नगरपालिका वडा नम्बर ३ सिंगौलमा सहिद दिवसको अवसरमा बुधवार एक दिने वृहत निःशुल्क स्वास्थ्य शिबिर आयोजना गरेको हो ।
शिविरमा स्थानीयलाई स्वास्थ्य जाँच तथा परामर्श सेवा पनि प्रदान गरिएको थियो। कार्यक्रमको प्रमुख अतिथि निजगढ नगरपालिकाका नगरप्रमुख सुरत पुरी रहनु भएको थियो भने विशिष्ट अतिथिमा राष्ट्रिय युवा संघ नेपालका स्थायी समिति सदस्य तथा मधेस प्रदेश सहइन्चार्ज तिलक घलान हुनुहुन्थ्यो।
शिविरमा उपस्थित अन्य अतिथिहरूमा निजगढ नगरपालिका वडा नम्बर ३ का अध्यक्ष गोकुलप्रसाद तिमल्सिना, युवा संघ नेपालका केन्द्रीय सदस्य तथा बारा जिल्ला इन्चार्ज दिपिका साह, युवा समाजसेवी ज्ञानु जिम्बा, वडा सदस्य जितबहादुर लोप्चन, दलित महिला सदस्य चनी बिक तथा पवन पुलामी रहनु भएको थियो। कार्यक्रम युवा संघ नेपाल निजगढ नगर कमिटी अध्यक्ष घनश्याम तिमल्सिनाको अध्यक्षतामा सम्पन्न भएको थियो।
शिविर सञ्चालनमा नेपाल मेडिकल वयोधा हस्पिटलको महत्वपूर्ण सहयोग रहेको थियो। शिविरमा सहभागी ८ जना चिकित्सकहरूलाई नगरपालिकाका नगर प्रमुख पुरीले प्रशंसापत्र प्रदानगर्नु भएको थियो। नगर कमिटी अध्यक्ष घनश्याम तिमल्सिनाले ग्रामीण भेग तथा अतिविपन्न वर्गलाई लक्षित गरी स्वास्थ्य शिबिर आयोजना गरिएको जानकारी गराउँदै आगामी दिनमा पनि निजगढका अन्य क्षेत्रमा यस्ता शिविर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।शिविरमा स्थानीय ३८० जनाले स्वास्थ्य परीक्षण गराएका थिए। स्वास्थ्य शिविरमा सामान्य स्वास्थ्य जाँचसँगै स्त्रीरोग, दन्त तथा आँखा सम्बन्धी परीक्षण गरिएको थियो। कार्यक्रम सिंगौल वडा नम्बर ३ को लालीगुराँस आधारभूत विद्यालयको प्राङ्गणमा सम्पन्न भएको थियो।