कृष्ण मोहन साह
सेढवा,पर्साको ठोरी गाउँपालिकामा बाघमोर्चामा ५ शैयाको पोलिक्लिनिक सेवा सुरु भएको छ । ठोरी गाउँपालिका वडा नम्बर ५ मा २४सैं घण्टा विशेषज्ञ डाक्टर सहितको सेवा दिने उद्देश्यले स्थापना भएको बाघमोर्चामाई स्वास्थ्य संस्थाको सोमवार ठोरी गापा अध्यक्ष लालबहादुर श्रेष्ठले उद्घाटन गर्नुभएको छ ।सो अवसरमा अध्यक्ष श्रेष्ठले निरन्तर गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि सञ्चालकहरुसंग आग्रह गर्नुभयो । यसभन्दा अगाडि पनि ठोरीमा पोलिक्लिनिक स्थापना भएर बन्द भएको बताउँदै उहाँले आगामी दिनमा ठोरीबासीलगायत वरपरका अन्य पालिकाका सर्वसाधारण नागरिकको स्वास्थ्यका सेवामा गम्भीर बनेर प्रभावकारी सेवा प्रवाह गर्न अनुरोध गर्नुभयो । ग्रामीण भेगको स्वास्थ्य संस्था भएकाले उपचार शुल्क सबैलाई सहज हुने गरी कायम गर्नुपर्नेमा अध्यक्ष श्रेष्ठको जोड थियो ।वीरगञ्जको ठोरी हुलाकी सडक खण्ड अन्तरगत ठोरी –५ बाघमोर्चामा स्थापना भएको सो पोलिक्लिनिकले हरेक दिन विशेषज्ञ डाक्टरसहितको सेवा प्रदान गर्ने संस्थाका सञ्चालक समेत रहनुभएका स्वास्थ्यकर्मी अजवीनाथ गौरोले जानकारी दिनुभयो । सो पोलिक्लिनिकमा २४ घण्टा एमबिबिएस उत्तीर्ण डाक्टर उपलब्ध रहने र दैनिक रुपमा फरकफरक विशेषज्ञ डाक्टरहरुको ओपिडी सेवा पनि प्राप्त गर्न सकिने स्वास्थ्यकर्मी गौरोले बताउनुभयो । हाल सो पोलिक्लिनिकमा डाक्टर रवि गिरीले २४ घण्टा स्वास्थ्य सेवा प्रदान गर्दैआउनुभएको छ ।पोलिक्लिनिकमा एक्सरे, भिडियो एक्सरे, इसिजी, प्याथोलोजी, फार्मेसी सेवालगायत विविध स्वास्थ्य सेवा उपलब्ध रहेको छ । पोलिक्लिनिकको ठोरीका विभिन्न ठाउँमा लामो समयदेखि स्वास्थ्य क्लिनिक सञ्चालन गर्दै आइरहनुभएका सुरेश साह, अजवीनाथ गौरो, दिपेन्द्र कार्की लगायत स्वास्थ्यकर्मीहरुको संलग्नतामा क्क्लिनिक स्थापना भएको हो ।पोलिक्लिनिक उद्घाटन कार्यक्रममा ठोरी गाउँपालिका– ५ का वडाध्यक्ष अष्टबहादुर लोप्चन लगायत ठोरीका विभिन्न संघसंस्थाका अगुवा प्रतिनिधिहरुको उपस्थिति थियो ।