निजगढ,अविरल वर्षका कारण निजगढको जनजीवन प्रभावित बनेको छ । अविरल वर्षसंगै आएको बाढी पसेर ईलाका प्रहरी कार्यालय निजगढको मेससहित पुर्वपश्चिम लोकमार्गको शहिद चोक क्षेत्र लगायत विभिन्न स्थानका घर, पसल र कार्यालयहरु डुवानमा परेपछि जनजीवन प्रभावित बनेको हो ।

निजगढ नगरपालिकका नगर प्रमुख सुरथ पुरी र उपप्रमुख सोममाया थिङ्ग, वडा नम्बर ७ का अध्यक्ष टेकबहादुर लामा, वडा नम्बर ९ का वडा अध्यक्ष रामचन्द्र कटुवालसहितको टोलीले पूर्वपश्चिम लोकमार्गको प्रभावित क्षेत्रमा पुगेर निरीक्षण गरेको थियो ।

मंगलवार रातिदेखि लगातार परेको पानीपछि आएको भल पानीको बाढीले निकास नपाउदा घर तथा पसल र कार्यालयहरु डुवानमा परेका हुन । बाढीले निजगढ नगरपालिका वडा नम्बर ६, ७, ८ र ९ नम्बर वडाका दर्जनौं घर डुवानमा परेका छन । बाढीका कारण शहिद चोकबाट राजमार्गको पूर्वतर्फको लच्कासम्मको क्षेत्र सबैभन्दा बढी प्रभावित बनेको छ । राजमार्गको दायाँ बायाँ दुबैतर्फका अधिकांश घर, पसल र कार्यालयहरु डुबानमा परेका छन ।

बाढी पसेर ईलाका प्रहरी कार्यालय निजगढको मेसमा रहेको भाडाकुडा बगाएको प्रहरी निरीक्षक संजिव ओलीले जानकारी दिनुभयो । बाढी र डुवानले मेस संचालन गर्न नसकिएपछि प्रहरी कार्यालयका प्रहरीहरुलाई निजगढ बजारको एक होटलमा लगेर खाना खुवाइएको निरीक्षक ओलीले जानकारी दिनुभयो । कार्यालयको मुल गेटबाटै बाढी पस्न थालेपछि प्रहरीहरुले बालुवाको बोराको बाँध बनाएर नियन्त्रण गरेका थिए । तर पछाडिपट्टीबाट पसेको बाढीले चौकीको मेस डुवानमा पारेको र सामग्रीहरु बगाएको छ ।

त्यसैगरी रोशन इन्टरप्राइजेजको मोटरसाइकल मर्मत कोठा पनि डुवानमा परेको छ । माथिल्लो क्षेत्रबाट आएको पानीले निकास नपाउँदा डुवानको समस्या भएको निजगढ नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष लामाले बताउनुभयो । उहाँले नगरपालिकाको जेसिबी प्रयोग गरेर पानी निकास गर्ने प्रयास भइरहेको जानकारी दिनुभयो । निजगढ नगरपालिकका प्रमुख सुरथ पुरी र उपप्रमुख सोममाया थिङ्ग, वडा नम्बर ९ का वडा अध्यक्ष रामचन्द्र कटुवाल पूर्वपश्चिम लोकमार्गको प्रभावित क्षेत्रमा पुगेर निरीक्षण गर्नुभएको थियो । यसैबीच बाढीले पुर्वपश्चिम राजमार्गमा दिउसो केहीबेर यातायात समेत अवरुद्ध बनेको थियो । जमुना पैनी र राजमार्गको लच्काबाट बाढी पसेपछि यातायात अवरुद्ध बनेको हो । जमुना पैनीमा आएको बाढी कलभर्ट माथिबाट बग्न थालेपछि सडक अवरुद्ध बनेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here