वीरगञ्ज,वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ बिर्तामा रहेको बाल सुधार गृहबाट दुई दिनपहिले फरार भएका दुई जना बाल कैदीलाई प्रहरीले पक्राउ गरेको छ ।गत शुक्रवार बिहान २ बजेको समयमा सुधार गृहमा लगाइएको काँडे तार काटेर छतबाट हाम फालेर फरार भएका दुवैलाई सर्लाही र सिराहाको सीमा क्षेत्रको अलग अलग स्थानबाट पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले बताउनुभयो ।जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी निरीक्षक दावा शेर्पा र प्रहरी नायब निरीक्षक विनोद काफ्लेको नेतृत्वमा छुट्टाछुट्टै खटिएको प्रहरी टोलीले शनिवार राति एक जनालाई र अर्कोलाई आइतवार पक्राउ गरेको शाहले बताउनुभयो ।बाल सुधार गृहबाट शुक्रवार बिहान २ बजेतिर कर्तव्य ज्यान मुद्दाका अभियुक्त सर्लाहीका अमरकान्त ठाकुर र जबरजस्ती करणी मुद्दाका सप्तरी घर भएका पाण्डव यादव फरार भएका थिए ।प्रहरीका अनुसार शुक्रवार बिहान सुधार गृहबाट भागेका दुवै बालकैदीहरु वीरगञ्जको मुख्य भन्सार नाका शङ्कराचार्य गेट अगाडिबाट भारतको रक्सौलतर्फ गएको दृश्य नाकामा जडान गरिएको सिसी टिभीमा रेकर्ड भएको थियो ।नीहरू शुक्रवार बिहान ५ बजेको समयमा एक आपसमा कुराकानी गर्दै खाली खुट्टा सँगै हिँडेर रक्सौलतर्फ गइरहेको अवस्थामा प्रहरीको सिसिटिभी क्यामेरामा देखिएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरीको टोली उनीहरूलाई खोज्न सर्लाही र सिराहाको सीमा क्षेत्र गएको थियो ।