निजगढ,बाराको निजगढ नगरपालिका वडा नम्बर ७ स्थित जनज्योति सामुदायिक वन उपभोक्ता समूहले जंगलमा खेर जाने पतिङ्गरबाट प्राङ्गारिक मल उत्पादन शुरु गरेको छ ।
निजगढ नगरपालिका र डिभिजन वन कार्यालय बाराको आर्थिक सहयोगमा समूहले प्राङ्गारिक मल उत्पादन शुरु गरेको हो । मल उत्पादनको क्रममा फिटने र चाल्ने मेसिन खरिद गर्न निजगढ नगरपालिकाले १० लाख र डिभिजन वन कार्यालय बाराले ४ लाख १५ हजार रुपैया बराबरको चाप कटर हेबी मेसिन सहयोग गरेपछि मल उत्पादन शुरु भएको हो ।वन कार्यालयले लागत साझेदारी कार्यक्रम अन्तर्गत उपलब्ध गराएको मेसिन केही समय अघि नै आइपुगेको थियो भने पालिकाको सहयोगमा खरिद भएको मेसिन आइपुगेपछि २ दिनअघिबाट मल उत्पान शुरु गरिएको हो ।

कृषि क्षेत्रमा बढ्दो रसायनिक मलको प्रयोगलाई निरुत्साहित गर्दै जनस्वास्थ्य सम्बद्र्धन गर्ने उद्देश्यले प्राङ्गारिक मल उत्पादन गर्ने कार्यमा वन समूहलाई सहयोग गरिएको निजगढ नगरपालिकका नगर प्रमुख सुरथ पुरीले जानकारी दिनुभयो । नगर प्रमुख पुरीले पतिङ्गरको प्रयोगबाट उत्पादन हुने मलको प्रयोगबाट नागरिकको स्वास्थ्यसंगै वनजंगलको संरक्षण र स्थानीयको आयआर्जमा पनि मद्दत पुग्ने बताउनुभयो ।‘रुखका बिरुवालाई ओग गर्ने झाडी फडानी गरेर प्राङ्गारिक मल तयार हुन्छ, उहाँले भन्नुभयो, यसबाट बोट बिरुवाको संरक्षण, स्थानीयको रोजगारी वृद्धि र आर्गनिक खाद्यान्न उत्पादन गर्न सकिन्छ ।’
समूहका अध्यक्ष खडकबहादुर मोक्तानले स्थानीय उपभोक्तालाई पारिश्रमिक दिएर संकलन गरिने जंगलको झाडी र पतिङ्गर (कच्चा पदार्थ) लाई मेसिनको प्रयोगबाट कटिङ्ग गरेर निश्चित समयसम्म गोदाममा राखेर आवश्यक तापक्रम दिएपछि मेसिनबाट फिटेर गुणस्तरीय मलको रुपमा प्रयोग गर्न सकिने बताउनुभयो ।
मेसिन सञ्चालनमा आएसँगै वन उपभोक्ता समूहले प्राङ्गारिक मल उत्पादनलाई नियमितरूपमा अघि बढाउने जनाएको छ । जंगलमा खेर जाने झारपात र पतिङ्गरको प्रयोगबाट कृषि कार्यको लागि उपयोगी प्राङ्गारिक मल तयार पारेर उपभोक्ताहरुलाई बिक्री गरिने जनाइएको छ ।
प्राङ्गारिक मल उत्पादनबाट नगरको फोहर व्यवस्थापन र वातावरण संरक्षणमा टेवा पुग्नुको साथै कृषिजन्य उत्पादनमा वृद्धि भएर समूह र समूहका सदस्यहरुको आय आर्जनमा समेत टेवा पुग्ने समूहका सचिव रामकुमार सिंजालीले विश्वास व्यक्त गर्नुभएको छ ।


















