वीरगञ्ज,वीरगञ्जको मेनरोड क्षेत्रमा सडक विभागले घर भत्काएपछि पीडित बनेका स्थनीयले सरकारी कारबाहीको विरोधमा शनिबार मोटरसाइकल र्याली प्रदर्शन गरेका छन् । र्यालीमा पीडित र प्रभावित परिवारका सदस्य तथा स्थानीय नागरिकको उल्लेखनीय सहभागिता रहेको थियो ।संघर्ष समितिका संयोजक एवं वीरगञ्ज महानगरपालिका– ९ का वडा अध्यक्ष जवाहरप्रसाद गुप्ताको नेतृत्वमा आयोजित मोटरसाइकल जुलुस नगरका विभिन्न क्षेत्रको परिक्रमा गर्दै सम्पन्न भएको थियो ।

जुलुसका क्रममा सहभागीहरूले “हाम्रो घर सुरक्षित गर”, “ऐतिहासिक नगरी वीरगञ्ज बचाऊ”, “डोजर आतंक बन्द गर”, “मेनरोडलाई सहरी मार्ग घोषणा गर”, “सुकुम्बासी बनाउन पाइँदैन”, “सर्वोच्च अदालत न्याय गर” तथा “मानवताको सम्मान गर” लगायतका नारा लगाएका थिए ।प्रदर्शनकारीहरूले मेनरोड क्षेत्रमा भइरहेको सरकारी कारबाहीप्रति असन्तुष्टि जनाउँदै स्थानीय बासिन्दाको आवास, सम्पत्ति तथा अधिकारको संरक्षण गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।संघर्ष समितिले प्रभावित नागरिकहरूको माग सम्बोधन नभएसम्म आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने चेतावनी समेत दिएको जनाएको छ ।


















