वीरगञ्ज,वीरगञ्ज क्षेत्रका बाढी प्रभावितहरूका लागि राहतस्वरूप निःशुल्क खानपान र बसोबासको व्यवस्था गरिएको छ ।
होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तले बाढीका कारण प्रभावित भएका व्यक्तिहरूका लागि निःशुल्क रुपमा खाना र बस्नको व्यवस्था गर्ने बताएका हुन् ।
तत्कालका लागि २० देखि ३० जनासम्मलाई निःशुल्क खान र बासको व्यवस्था गर्ने पन्तले जानकारी दिनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका संयोजक समेत रहेका पन्तका अनुसार, बाढीको कारण घर डुबानमा परेर खान र बस्न समस्या भएका व्यक्तिहरूलाई वीरगञ्जस्थित आर्मी ब्यारेक नजिकैको क्लासिक ब्यान्क्वेटमा यो सेवा उपलब्ध गराइनेछ ।
पन्तले पर्साका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखलाई यसबारे जानकारी गराइसकेको उल्लेख गर्दै, आवश्यकता परेमा जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा, वा स्वयं पन्तसँग सम्पर्क गर्न आग्रह गर्नुभएको छ । पन्तको मोबाइल नम्बर ९८५५०२१५२४ मा सम्पर्क गरेर आउन उनले अनुरोध गर्नुभएको छ ।
यसैबिच राष्ट्रिय स्वतन्त्र पार्टीले जोखिमपूर्ण अवस्थामा रहेका नागरिकको उद्धार कार्यमा खटिन पार्टी सदस्यहरूलाई निर्देशन दिए अनुसार रास्वपा पर्साका संयोजक हरि पन्तले पनि पार्टीको निर्देशन बमोजिम उद्दारमा खटिन जिल्लाका नेता कार्यकर्तालाई अनुरोध गर्नुभएको छ ।

















