काठमाण्डौ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूले हतार र हतास मनस्थितिमा आएर राजीनामा नदिएको बताउनुभएको छ ।पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा चलिरहेको केन्द्रीय कार्यसमिति बैठकमा सभापति थापाले विशेष महाधिवेशनपछि पार्टी आफ्नो नेतृत्वमा चुनावमा गएको उल्लेख गर्दै त्यसको परिणामलाई लिएर भइरहेका टिप्पणीहरू आफ्नो सरोकारको विषय नभएको पनि बताउनुभयो ।
सभापति थापाले आफूले कुनै पनि दबावमा आएर नभई जिम्मेवारी र जवाफदेहिताका आधारमा राजीनामा दिएको उल्लेख गर्नुभयो । उहाँले अबको पाँच वर्ष प्रतिपक्षको तर्फबाट कांग्रेसले जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘मैले हतारोमा र हतास भएर राजीनामा दिएको होइन । हामीले विशेष महाधिवेशनमार्फत नेतृत्व लिएर चुनावमा जाँदा हाम्रो पक्षमा मत माग्न नजाने र मत नहाल्नेहरूले गरेको टिप्पणी हाम्रो सरोकारको विषय होइन । म तत्कालै राजीनामा दिन चाहन्थेँ । चुनावका सबै प्रक्रिया पूरा गर्नुपर्ने हुँदा लम्बियो । मैले दबावमा आएर राजीनामा दिएको थिइनँ । यो जवाफदेहिताको विषय हो । मेरो नेतृत्वमा हामी चुनावमा गयौँ । त्यसको परिणामको जिम्मेवारी मैले लिनुपर्छ भनेर राजीनामा बुझाएको हुँ ।’
यस्तै सभापति थापाले देशमा सुशासन कायम गर्न तथा शासकीय सुधारका सन्दर्भमा अब बन्ने सरकारसँग सहकार्य गर्न पार्टी तयार रहेको उल्लेख गर्नुभयो । २०४५ सालयता सार्वजनिक पदमा बसेका सबै व्यक्तिको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति जफत गर्नुपर्ने आफूहरूको मुख्य माग रहने पनि उहाँले बताउनुभयो ।

Leave a Reply