कृष्णउदास खनाल

कोरोना महाहारीका कारण थला परेको मधेस प्रदेशको आर्थिक अवस्था उठ्ने तरखरमा रहेपनि फेरि रुस र युक्रेनको बीचमा भएको युद्धका कारण मधेसको आर्थिक अवस्थामा अझै तग्रिन सकेको छैन ।गत आर्थिक वर्षमा ऋणात्मक रहेको मधेस प्रदेशको आर्थिक अवस्था चालु आर्थिक वर्षमा भने बढ्ने अनुमान गरिएको छ । मधेस प्रदेशको अर्थ मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार यो प्रदेशको अहिलेको आर्थिक वृद्धिदर १ दशमलभ ९० छ ।मधेस प्रदेशको आर्थिक अवस्था कमजोर भएसंगै यहाँका बासिन्दाहरुको प्रतिव्यक्ति आय पनि कम छ । यो प्रदेसका व्यक्तिहरुको प्रतिव्यक्ति आय देशको सात वटै प्रदेसको तुलनामा सबैभन्दा कम अथवा ८ सय ७५ डलर मात्र रहेको छ । मधेसको कुल ग्राहस्थ उत्पादन उपभोक्ताको कुल मुल्यमा करिब ७ खर्ब, ७ अर्ब रहने समेत अनुमान गरिएको छ । औधोगिक वर्गीकरण अनुसार मधेस प्रदेशको सबैभन्दा बढी कुल ग्राहस्थ उत्पादनमा योगदान कृषि, वन तथा माछापालनमा छ ।नेपाल राष्ट्र बैंक वीरगञ्ज शाखाले दिएको जानकारी अनुसार मधेश प्रदेशमा पछिल्ला दिनमा बैंक तथा बित्तीय संस्थाहरुको पहुँच पनि बढेको छ । खासगरी अघिल्लो स्थानीय तहको निर्वाचनपछि भने मधेसमा पनि बैंक तथा बित्तीय संस्थाहरुको पहुँच नागरिक माझ बढेको हो ।मधेशका सबै १ सय छत्तीस स्थानीय तहहरुमा बैंकहरुले अहिले सेवा दिइरहेको पाइन्छ । मधेसमा सबै वर्गको बैंक तथा बित्तीय संस्थाहरु ४७ दशमलभ ८ प्रतिशत रहेको छ ।मधेस प्रदेशमा सबै लघुबित्त संस्थाहरुको संख्या पछिल्लो चार वर्षमा करिब ६८ प्रतिशतले बढेको छ । मधेस प्रदेशमा लघु बित्त संस्थाहरुको उपस्थिति पनि बढेको हो । मधेसमा अन्य क्षेत्रभन्दा लघुबित्त संस्थाहरुको लगानी कृषिमा अधिक देखिएको छ । मधेसमा यी संस्थाहरुको ४८ प्रतिशत लगानी कृषिमा रहेको छ ।मधेश प्रदेसमा उत्पादक, उपभोक्ता तथा बित्तीय, बहुउद्देश्य तथा सेवा गरीसहकारी संस्थाहरुको कुल संख्या भने ४ हजार एक सय त्रिपन्न रहेको छ भने सहकारी संस्थामार्फत ५ लाख, ५५ हजार, १ सय ७९ जनाले विभिन्न व्यसाय संचालन गरिरहेको देखिन्छ ।मधेसमा जीवन बीमा गराउनेहरु पनि बढेको देखिन्छ । यो आर्थिक वर्षको भदौसम्ममा १४ प्रतिशत बीमाको संख्या रहेको छ । यस्तै निर्जीवन बीमाको संख्या पनि करिब १४ प्रतिशत रहेको छ ।मधेस प्रदेशको मुख्य बालीको रुपमा भने धान नै रहेको छ । मधेस प्रदेशमा सबैभन्दा बढी बाली उत्पादन हुने जमिनको रुपमा सर्लाही र महोत्तरी रहेको पाइन्छ । सिँचाईको पहुँचका हिसाबले मधेसको सबैभन्दा बढी रौतहटमा छ भने कम सप्तरी जिल्लामा रहेको पाइन्छ । धान खेती भने महोत्तरी बाहेक सबै जिल्लामा उत्पादन उस्तै छ । गहुँ खेती यो प्रदेशमा सबैभन्दा बढी धनुषामा भएको देखिन्छ भने कम महोत्तरी जिल्लामा देखिन्छ ।बारा जिल्ला यो प्रदेशको सबैभन्दा बढी मकै उत्पादन हुने जिल्लामा पर्छ भने कममा रौतहट जिल्ला छ । नगदे बालीको रुपमा पनि यो प्रदेशमा उखु रहेको छ । उखु सबैभन्दा बढी सर्लाही जिल्लामा उत्पादन हुन्छ भने कम पर्सामा । यस्तै पर्सा जिल्लामा भने सबैभन्दा बढी सुर्ती उत्पादन भएको तथ्यांक छ ।मधेस प्रदेशमा दलहन, फलफुल तथा तरकारी गरी सरदर वर्षमा १४ लाख बढी मेट्रिक टन उत्पादन हुने गरेको सरकारी तथ्यांक छ । यस्तै मधेसका जिल्लाहरुमा सबैभन्दा बढी क्षेत्रफल वन पर्सामा पर्छ भने त्यसपछि बारा जिल्ला रहेको छ ।मानव सुचाकांकको अवस्था हेर्ने हो भने गरिबीको अवस्था मधेस प्रदेशमा एकदमै डरलाग्दो रहेको छ । देशको कुल गरिबीमध्ये मधेसमा करिब १४ लाख मानिसहरु गरिब रहेको अर्थमन्त्रालय मधेस प्रदेशको तथ्यांकमा उल्लेख छ । यो संख्या मधेशमा गरिबीको संख्या पनि यो सबैभन्दा बढी हो । यद्यपि मधेसमा हरेक तीन जनामा एकजना गरिब रहेको अवस्थाबाट सुधार भएर हाल पाँच जनामा एकजना गरिब रहेको सरकारी तथ्यांक छ ।भौतिक पूर्वाधारमा अगाडि नै रहेको मधेसमा उद्योगहरुको अवस्था पनि संतोषजनक नै छ । यो प्रदेशमा ६ सय ११ वटा उद्योगहरु रहेका छन । यो प्रदेशमा उद्योग क्षेत्रमा मात्रै १ खर्ब, ७० अर्बको लगानी रहेको छ । यी उद्योग मार्फत यो मधेस प्रदेशमा चार लाख जनाले रोजगारी पाइरहेका छन ।यसरी हेर्दा, मधेस प्रदेशमा अहिले आर्थिक गतिविधि निक्कै बढेको छ । राजनीतिक स्थिरतासँग आर्थिक गतिविधि पनि सरोकार रहने भएकाले पहिला राजनीतिक स्थायित्व आवश्यक देखिन्छ ।बैदेशिक रोजगारी समेत मधेसका नागरिकहरुको गन्तव्य बनेको पनि देखिन्छ । तिन तहका सरकार आएपछि धेरै हदसम्म मधेसको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि अझै पनि ठोस नीति भने बनाउन आवश्यक छ ।अझैपनि मधेसको ठुलो जनसंख्या गरिबीको रेखामुनि रहेकाले यसको दर घटाउनका लागि पनि सरकारले नीति बनाउन आवश्यक देखिन्छ । यहाँका मानिसहरुको जीवनस्तर सुधार गर्नका लागि कृषिमा पनि लागानी आवश्यक देखिन्छ । यस तर्फ पनि सबै स्थानीय, प्रदेश तथा संघीय सरकारले ध्यान दिएको खण्डमा मधेस प्रदेशको जीवनस्तर फेरिने धेरै समय लाग्ने छैन ।

Leave a Reply