वासिङ्टन,चिनियाँ समकक्षी सी जिनपिङले भारतमा हुने आगामी जी–२० सम्मेलनमा भाग नलिने निर्णय गरेकोमा अमेरिकी राष्ट्रपति जो बाइडेनले आफू निराश भएको बताएका छन् ।यो हप्ता नयाँ दिल्लीमा सुरु हुने सम्मेलनमा सीको स्थानमा प्रधानमन्त्री ली छ्याङले बेइजिङको प्रतिनिधित्व गर्ने अपेक्षा गरिएको छ ।‘म निराश छु…तर म उनीसँग भेट्नेछु,’ बाइडेनले पत्रकारहरूसँग भने । यद्यपि, उनले सीसँगको भेट कहिले हुन्छ भनेर चाहिँ खुलाएनन् । सी र बाइडेनबीच नोभेम्बरमा सान फ्रान्सिस्कोमा हुने एसिया प्यासेफिक इकोनोमिक कोओपरेसनमा भेट हुन सक्नेछ । पछिल्लो पटक दुई नेताबीच इन्डोनेसियामा आयोजित सम्मेलनमा गत वर्ष भेट भएको थियो ।यसअघि राष्ट्रपति सीले भारत हुने सम्मेलनमा जाने बताएका थिए । तर, गत बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयले सीको भ्रमणबारे पुष्टि गर्न चाहेन । सीनिकट स्रोतले भने उनी सम्मेलनमा भाग नलिने बताएको बीबीसीको समाचारमा उल्लेख छ ।चीन र भारतबीच पछिल्लो समय सम्बन्ध चिसिएको छ । सीमा विवादबीच बेइजिङले गत हप्ता जारी गरेको नक्सामा अरुणाचल प्रदेश र अस्काई चीनलाई आफ्नो भूभागमा समेटेपछि भारत थप रुष्ट बनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here