काठमाण्डौ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललिता निवासको सरकारीे जग्गा हिनामिना प्रकरणसम्बन्धी प्रतिवेदन मङ्गलवार जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डौमा बुझाएको छ । जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले ललिता निवास जग्गा हिनामिना प्रकरणको अनुसन्धान प्रतिवेदन प्राप्त भएको जानकारी दिनुभयो ।सीआईबीले यस प्रकरणमा संलग्न भनिएकाहरूसँग अस्ति आइतवार राति पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईको बयान लिएको थियो भने हिजो सोमवार नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वमन्त्री चन्द्रदेव जोशी, पूर्वराज्यमन्त्री सञ्जय साह (टक्ला) लगायतको बयान लिएको थियो ।बालुवाटारको ललिता निवास जग्गा व्यक्तिको नाममा गरी हिनामिना भएको विषय अहिले विशेष अदालतमा विचाराधीन छ । सीआईबीले सरकारी जग्गा व्यक्तिको नाममा कायम गर्दा सरकारी कागजात तथा दस्तखत किर्ते प्रकरणमा अनुसन्धान अगाडि बढाएको थियो ।