सिमरा,जीतपुरसिमरा उपमहानगरपालिका १४ की वडाध्यक्ष चयन गुरुङले मापदण्ड विपरित वडाभित्र संचालनमा रहेका पाँच वटा बालुवा प्रशोधन (वासप्लान्ट) भत्काउनुभएको छ ।गुरुङले दुधौरा खोला र बेहरी क्षेत्रमा संचालित अनधिकृत प्रशोधन केन्द्र डोजर लगाएर भत्काउनुभएको हो । उपमहानगरपालिकाको मापदण्ड उलंघन गर्दै अनधिकृत रुपमा वासप्लान्ट संचालन रहेको पाइएपछि तत्कालै भत्काइएको गुरुङले बताउनुभयो ।खोला क्षेत्रमा संचालित वासप्लान्टले मापदण्ड विपरित नदिजन्य पदार्थ उत्खनन् गरी भण्डारण गर्न थालेका थिए । रातीको समयमा नदिजन्य पदार्थ उत्खनन् गर्दै भण्डारण गरेको सूचना पाएपछि पुगेको वडाको टोलीले वासप्लान्ट भत्काएको वडाध्यक्ष गुरुङले बताउनुभएको छ । वासप्लान्टमा स्थानीय केही स्थानीयले रोजगारी गर्दै आएको भएपनि मापदण्ड विपरित रहेको पुष्टि भएपछि भत्काउन बाध्य भएको वडाध्यक्ष गुरुङले बताउनुभयो ।वासप्लान्ट भत्काउने क्रममा उपमहानगरपालिकाका राजश्व शाखाका प्रमुख रमेश सुवेदीसहितका कर्मचारी पुगेका थिए । अधिकृत सुवेदीले नगर क्षेत्र भित्र संचालित अन्य प्रशोधन केन्द्र पनि अनुगमन गरिने र मापदण्ड विपरित भए सबै भत्काईने बताउनुभयो ।


















