राजकुमार यादव

मौलापुर,गौर हत्याकाण्डका दोषिमाथि कारबाहीको माग गर्दै आन्दोलनरत हत्याकाण्डका पीडित पक्ष र नेपाल सरकारबीच मंगलवार ५ बुँदे सहमति भएको छ ।दुई पक्षबीच भएको सम्झौतामा २०६३ चैत्र ७ गते भएको गौर घटनामा मृत्यु भई नेपाल सरकार, मन्त्रिपरिषद्को २०६५ पौष ९ गतेको बैठकबाट शहीद घोषणा गरिएका व्यक्तिको विवरण नेपाल राजपत्रमा प्रकाशन गर्ने तथा उक्त घटनामा मृत्यु भएका तर शहीद घोषणा हुन छुट भएका मृतकहरुका हकमा शहीद घोषणाको प्रकृयाअगाडि चढाउने लगायतको सहमति भएको छ ।त्यसैगरी घटनाको विषयमा सोही समयमा दर्ता भएको जाहेरी समेतलाई छानबिन र अनुसन्धान गरी तथ्य र प्रमाणको आधारमा दोषीलाई कानून बमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाउने, गौर घटनामा परी मृत्यु भएका व्यक्तिहरुको स्मृतिमा रौतहट जिल्लामा शहीद स्मारक स्तम्भ निर्माण गर्ने कार्यको प्रक्रिया यसै आर्थिक वर्षमा थालनी गर्ने, उक्त घटनामा परेर घाइते भएका उपचाररत व्यक्तिको लागि उपचारको उचित प्रबन्ध गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गर्ने र आर्थिक सहायता उपलब्ध गराउने सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अनुरोध गर्ने पनि सहमति भएको छ ।सहमतिपछि गौर हत्याकाण्ड पीडित संघर्ष समितिले संचालन गर्दैआएको आन्दोलनको सबै कार्यक्रम फिर्ता लिएको छ । सहमति पत्रको ५ नम्बर बुँदामा उक्त घटनाको छानबिन र दोषिमाथि कारबाहीको मागसहित हुदै आएको आन्दोलन तत्काल अन्त्य गर्ने पनि उल्लेख गरिएको छ ।सङ्घर्ष समितिका अध्यक्ष रुपसागर देवी उपाध्याय र गृह मन्त्रालयबीचसहमति भएको हो । मन्त्रालयका तर्फबाट सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराई र सङ्घर्ष समितिका अध्यक्ष उपाध्यायले सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको छ ।


















