पुष्पराज खतिवडा

मनहर्वा,नेकपा एमाले बाराले विभिन्न ८ सुत्रीय माग राखेर जिल्ला प्रशासन कार्यालय बारामार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, काठमाण्डौमा ज्ञापनपत्र बुझाएको छ ।बाराका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यलाई बुझाइएको ज्ञापन पत्रमा सुख्खाबाट प्रभावित किसानका लागि राहतको व्यवस्था गरिनुपर्ने लगायतका माग गरिएको छ । एमाले बाराले लम्पि स्किन रोकबाट भएको पशुधनमा भएको क्षतिको विवरण तयार गरी किसानलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारसँग माग गरेको छ ।यस्तै आँखा पाक्ने रोगको प्रकोप बढेकोले त्यसलाई नियन्त्रण गर्न विशेष कार्यक्रम र योजना ल्याउन पनि भनिएको छ । समयमै मलखादको उचित व्यवस्था गर्न र शान्ति सुरक्षाको अवस्था खस्किँदै गएकोले त्यसलाई सुदृढ गरियोस् ज्ञापन पत्रमा भनिएको छ ।एमाले जिल्ला सचिव अध्यानन्द पाण्डेद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा किसानले उत्पादन गरेको तरकारी, खाद्यान्न, दुध, फलफुल र माछाको खरिद बिक्री केन्द्र स्थापना गर्न समेत माग गरिएको छ । उखु किसानले सरकारबाट पाउने अनुदान रकम अहिलेसम्म पनि नपाएकोले तुरुन्त उपलब्ध गराउन भनिएको छ भने कृषि प्रयोजनका लागि कृषि मिटर निशुल्क उपलब्ध गराइयोस भनी ज्ञापन पत्रमा माग गरिएको छ ।सो अवसरमा जिल्ला सचिव पाण्डे, एमाले केन्द्रीय सदस्यहरु बलवीर चौधरी, एकवाल मिया, प्रदेश कमिटी सदस्य मनोज पौडे, उमेश गुप्ता, जिल्ला कमिटीका सहसचिव भुलन चौधरी, सदस्यहरु शर्मा बैठा, भोला अधिकारी, अमृतलाल श्रेष्ठ, रमेश चौधरी, पुरुषोत्तम साह, तारा कार्की लगायतको उपस्थिति रहेको थियो ।नेकपा एमालेले मंगलवार मधेस पदेशका ८ वटै जिल्लामा जिल्ला प्रशासन कार्यालयमार्फत किसानले भोग्नु परेका समस्याहरुको समाधानको लागि ज्ञापन पत्र बुझाएको हो ।

Leave a Reply