काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटली प्रस्थान गर्नुभएको छ । संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनको ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड इटली प्रस्थान गर्नुभएको हो ।प्रधानमन्त्री प्रचण्डलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीहरु, मुख्य सचिव, सांसद, सुरक्षा निकायका प्रमुख लगायतले बिदाइ गरेका छन् ।प्रधानमन्त्रीको टोलीमा कृषि तथा पशुपक्षी विकासमन्त्री डा. वेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउत प्रधानमन्त्री पुत्री तथा स्वकीय सचिव गंगा दाहाल लगायत छन् ।साउन ८ गतेदेखि संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटलीको रोममा आयोजना हुने ‘युनाइटेड नेसन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्टमा प्रधानमन्त्री प्रचण्डले विशेष सम्बोधन गर्नुहुने कार्यक्रम छ ।अतिकम विकसित देशको अध्यक्षको हैसियतमा उहाँले विशेष सम्बोधन गर्नुहुने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँ साउन ९ गते खाद्य प्रणाली परिवर्तन र अभ्यासमा सन्दर्भमा आयोजना हुने छलफलसमेतमा सहभागी हुनुहुनेछ । भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्र सङ्घका उच्च अधिकारीसँग भेटवार्ता गर्नुहुने कार्यक्रम तय भएको छ ।खाद्य तथा कृषि सङ्गठनका महानिर्देशक, विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक, कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषका अध्यक्षलगायतका संयुक्त राष्ट्र सङ्घीय अधिकारीसँग प्रधानमन्त्रीले भेटवार्ता गर्नुहुने कार्यक्रम तय भएको छ ।कार्यक्रममा नेपालको खाद्य सुरक्षासँगै नेपालले भोगिरहेको चुनौती एवम् अन्तर्राष्ट्रिय सहयोगका बारेसमेतमा छलफल हुनेछ । प्रधानमन्त्री प्रचण्ड आउँदो १२ गते स्वदेश फर्कनुहुने उहाँको सचिवालयले जनाएको छ ।

Leave a Reply