निजगढ,मानव कल्याण समाजले निजगढ नगरपालिका वडा नम्बर ४ स्थित पुरानोटोलमा सेवा घर निर्माण गर्नेभएको छ ।समाजले सोमवार निजगढ ८ स्थित ब्यौङ्कुट एण्ड पार्टी प्यालेसमा आयोजना गरेको कार्यक्रममा सेवा घर निर्माण गर्ने निर्णय गरेको हो । आफ्नै छुट्टै घर र भवनको अभावमा उद्धार गरिएका सडक मानवको आवास र हेरचाह कार्य प्रभावित बनेको भन्दै समाजकी अध्यक्ष सुमित्रा चौलागाईले छुट्टै घरको आवश्यकता परेको बताउनुभएको थियो । उहाँले निजगढको पुरानोटोलस्थित बाबारामेश्वर धाम मन्दिर परिशरको जमिनमा निर्माण गरिने भवनको लागि निजगढ नगरपालिका कार्यालयले ४ लाख रुपैया सहयोग गरेको जानकारी दिदै अपुग रकमको लागि निजगढबासी सबैले सकेको सहयोग गर्नुपर्ने पनि बताउनुभयो । अध्यक्ष चौलागाईले तत्कालको लागि २ तले कच्ची घर र पछि पक्की भवन निर्माण गरिने योजना रहेको पनि जानकारी दिनुभयो ।उद्धार गरिएका सडक मानवलाई हाल समाजले एक स्थानीयको निजी घरमा राख्दै आएको छ । समाजले हालसम्म १८ जना सडक मानवको उद्धार गरिसकेको छ ।कार्यक्रममा निजगढ नगरपालिकाकी पूर्वउपप्रमुख लिलादेबी लामिछाने, समाजको अभिभावक समितिका संयोजक ज्ञानेन्द्र चौलागाई, समाजसेवी अम्बिका चौलागाई, नेपाली कांग्रेश निजगढ सभापती नवराज तिमल्सिना, रामकृष्ण घिमिरेलगायतले भवन निर्माण र आर्थिक संकलनको लागि गर्नुपर्ने कामको बारेमा बोल्नुभएको थियो ।सोही कार्यक्रममा व्यवसायी रमेश कार्कीले सेवा घर निर्माणको लागि ५० बोरा सिमेन्ट र अर्का व्यवसायी बैकुण्ठ घिमिरेले ५÷५ टेक्टर गिटी र बालुवा सहयोग गर्ने घोषणा पनि गर्नुभएको थियो । निजगढस्थित सेवाघरमा आश्रय लिएर बसिरहेकाहरु सडक मानवको बारेमा तयार पारिएको श्रव्यदृश्य सामग्रीसमेत सो कार्यक्रममा प्रस्तुत गरिएको थियो ।यसैबीच सोमवार दिउसो पनि एकजना सडक मानवको उद्धार गरी सेवा घरमा राखिएको छ । निजगढ नगरपालिका कार्यपालिका सदस्य मिना चौरेलको पहलमा निजगढको सडकमा बेवारिसे अवस्थामा हिडदै गरेका एकजना युवकको उद्धार गरेर सेवा घरको जिम्मा लगाइएको हो ।




















