बसन्त लामा
सिंगौल,निजगढ नगरपालिका वडा नम्बर ३ स्थित गुम्बा टोलमा पहिलो पटक ग्रामीण सडक स्तरोन्नति हुनेभएको छ । ग्रामीण सडक निर्माण भएको वर्षैपछि बुधवारदेखि गुम्बा टोलमा पीपीसी ढलान सडक निर्माण सुरु भएको हो ।सिंगौल वडा नम्बर ३ निबासी जितबहादुर योन्जनको घर हुँदै बगर खोला जाने ग्रामीण सडकमा पीपीसी ढलान सडकको निर्माण कार्य भइरहेको छ । निर्माणधिन सडकको लम्बाई ५०० मिटर, चौडाई ६ मिटर, मोटाइ ८ इन्च हुनेछ ।निजगढ नगरपालिकाले आर्थिक अभावमा अधिकांश वडामा पूर्वाधार विकासका लागि बजेट उपलब्ध गराउन नसकेको अवस्थामा प्रादेशिक बजेटबाट सिंगौल वडा नम्बर ३ मा सडक स्तोरोन्नति प्रक्रिया अघि बढेको हो ।मधेश प्रदेशले विनियोजन गरेको बजेटबाट निजगढ नगरपालिकाको वडा नं. १० र वडा नम्बर ३ को सिंगौलमा पूर्वाधार विकासको कार्य भइरहेको छ । मधेस प्रदेश सरकारको चालु आर्थिक वर्ष २०७९÷८० को विनियोजित बजेटबाट धनसार सिँचाईको १५० मिटर लम्बाईको पक्की नाला, टाँसीधार्गे बौद्ध गुम्बा परिसरभित्र ९ कोठे सार्वजानिक शौचालय, वडा नम्बर ३ कै पिपलटार जाने बाटोमा मेसिनरी वाल सहितको ग्रेभलिङ्ग सडक १८२ मिटर र वडा नम्बर ३ कै ठुइतले प्रतिक्षालय हुँदै गुम्बासम्म आउने बाटोमा इजिङवाल सहितको बाटो निर्माण भइरहेको हो । मधेस प्रदेशको बजेटबाट निजगढ नगरपालिकाको वडा नम्बर १० र ३ मा विकास कार्यअघि बढ्दा अन्य बाँकी ११ वटा वडामा भने प्रादेशिक बजेटप्रति पहल हुन नसक्दा विकास निर्माण सम्बन्धि काम ठप्प छ ।गत आवमा निजगढ नगरपालिकाको विनियोजित बजेटबाट सुरु गरिएको पूर्वाधार सम्बन्धि कार्य आर्थिक अभावका कारण चालु आवमा पनि अलपत्र रहेका छन् । सिंगौलको टाँसीधार्गेलीङ बौद्ध गुम्बाको नयाँ व्यवस्थापन समितिका अध्यक्ष सुकराम जिम्बा र वडा नम्बर ३ को वडा अध्यक्ष गोकुलप्रसाद तिमल्सिनाको पहलमा वडाले प्रदेशबाट बजेट प्राप्त गरेको हो ।

Leave a Reply