सिकिन्द्र साह
सिम्रौनगढ,युकेएडको आर्थिक सहयोग र पिपुल इन निडको साझेदारीमा अस्मा नेपालद्वारा बारा जिल्लाको आदर्श कोतवाल गाउँपालिकामा संचालित किशोरी शिक्षा केन्द्रको बिहीबार अनुगमन गरिएको छ ।
विद्यालय बाहिर रहेका किशोरीहरुको शिक्षाको लागि गाउँपालिकाका विभिन्न वडा र टोलहरुमा संचालित कार्यक्रमको गाउँपालिकाका प्रमुख मुस्तुफा अन्सारी, प्रमुख प्रसाशकीय अधिकृत प्रमोदकुमार साह, आस्मा नेपालका अध्यक्ष हरिसचन्द्र यादव, आरम्भ परियोजना बाराका शिक्षा अधिकृत रामप्रबेस यादव, परियोजना संयोजक रामसुरेश ठाकुर, आर्दशकोतवाल गाउँपालिकाका महिला तथा बालबालिका शाखा अधिकृत ललिता कर्ण, शिक्षा संयोजक जितेन्द्रप्रसाद यादव, स्वास्थ शाखा प्रमुख पारस यादव, बाल संरक्षण अधिकृत सपना सेन्चुरीलगायत जनप्रतिनिधि तथा संचारकर्मीहरुको सहभागिता रहेको थियो ।
परियोजना अन्तर्गत बिगत एक वर्षदेखि वडा नम्बर १ को चिउटाहा टोलमा जागरुक सिकाइ केन्द्र, वडा नम्बर ६ पटेर्वामा चन्द्रमा किशोरी सिकाइ केन्द्र, कोतवालीमा भगवती सिकाइ केन्द्र, टेढाकट्टी १९ वर्षका बिवाहित तथा अबिवाहित किशोरीलाई केन्द्रमा राखेर पठनपाठन गरिदै आइएको छ । अनुगमनको क्रममा केन्द्रमा अध्ययन गरेका कतिपय किशोरीहरु थप अध्ययनको लागि भर्ना भएको समेत पाइएको थियो । केन्द्रमा भर्ना भएपछि शिक्षाको महत्व बुझेर थप अध्ययनको लागि सामुदायिक विद्यालयमा भर्ना भएको आस्मा नेपालका हरिसचन्द्र यादवले बताउनुभयो । त्यसैगरी गाउँपालिका अध्यक्ष मुस्तुफा अन्सारीले किशोरी शिक्षाको लागि पालिकाका सामुदायिक विद्यालयमा छुट्टै कक्षा कोठा सन्चालन गर्ने समेत बताउनुभएको थियो ।