बसन्त लामा
सिंगौल,निजगढ नगरपालिका वडा नम्बर १, २ र ३ मा पर्ने सिंगौल क्षेत्रका अधिकांश सामुदायिक वन सरक्षण बिहिन अवस्थामा पुगेका छन । सामुदायिक वन उपभोक्ताहरुले सामुदायिक वन समुहलाई सक्रिय पार्न आवश्यक दवाव दिन नसक्दा अधिकांश सामुदायिक वन सरक्षण बिहिन र निस्किृय बनेका हुन ।कार्यसमितिका पदाधिकारीहरुको लापरबाही र बेवास्ताका कारण वन संरक्षणमा प्रभाव पर्नुको साथै स्थानीय उपभोक्ताहरुले आवश्यकता अनुसारको वन पैदावारको समेत प्रयोग गर्न पाएका छैनन ।सिंगौलमा रहेका अधिकांश सामुदायिक वन वर्षैदेखि एउटै व्यक्तिले नै चलाउदै आइरहेको पाइएकोछ । सिंगौलमा सरस्वती सामुदायिक वन, सुखासितल सामुदायिक, वनलाली गुराँस सामुदायिक वन, बरमबाबा सामुदायिक वन, जनशक्ति सामुदायिक वन र वन देबी सामुदायिक वन हस्तान्तरण भएको छ । डिभिजन वन कार्यालयमा दर्ता भएका यी सबै सामुदायिक वनले वर्षौसम्म पनि समुहको साधारण सभा गर्न सकेका छैनन भने लेखा परीक्षण समेत हुन सकेको छैन ।सामुदायिक वनमा बिक्री वितरण गर्नुपर्ने काठ दाउरा हुदाँहुदै पनि बेलैमा प्रक्रिया मिलाएर ठेक्का गर्न नसक्दा सिंगौल वडा नम्बर २ मा रहेको वनदेबी सामुदायिक वनमा कटान मुछान गरेर राखेको लाखौ रुपैया मूल्य पर्ने काठ कुहिएर माटोमा परिणत हुनलागेको छ ।वनदेबी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सिद्धबहादुर थापाले अख्तियारमा उजुरी परेकोले काठ कुहिएर नष्ट हुन लाग्दा पनि बिक्री वितरण गर्न नसकेको बताउनुभएको छ । त्यस्तै सिंगौलमा रहेको वनदेबी सामुदायिक वनको पनि वर्षौदेखि न त साधारण सभा नै भएको छ न त कार्यसमितिको निर्वाचन नै भएको छ ।त्यस्तै सिंगौल वडा नम्बर १ मा रहेको जनशक्ति सामुदायिक वन उपभोक्ता समितिको अध्यक्ष निर्मल केसीले चैत्र महिनामा गर्ने बताउनुभएको भएपनि हालसम्म पनि साधारण सभा गर्नसक्नु भएको छैन । सिंगौलका वन समुहहरु निष्कृय रहेको अवस्थामा वनको अधिकार लिएर बसेको डिभिजन वन कार्यालय बारा सिमराले पनि समुहको साधारण सभा गराउने र वन संरक्षणमा सक्रिय पार्ने बारेमा कुनै चासो देखाएको छैन ।



















