निजगढ,निजगढ नगरपालिका वडा नम्बर ९ कार्यालयले आफ्नो वडाभित्रका असक्त, अपाङ्ग र जेष्ठ नागरिक (८० वर्षमाथि)को घरघरमै पुगेर स्वास्थ परीक्षण गर्नुको साथै सामाजिक सुरक्षा भत्तासमेत वितरण गरेको छ ।वडा अध्यक्ष रामचन्द्र कटुवालको नेतृत्वमा कार्यालयले वडाभित्र रहेका असक्त, अपाङ्ग र ८० वर्षमाथिका नागरिकहरुकोे घरघरमै पुगेर भत्ता वितरण र स्वास्थ परीक्षण पनि गरेको हो । प्राथमिक स्वास्थ्य केन्द्र निजगढको स्वास्थ्यकर्मीसहितको टोलीले ४ दिन लगाएर असक्तहरुको रगत र रक्तचाँपको चेकजाँच गरिएको वडा अध्यक्ष कटुवालले जानकारी दिनुभयो । यसक्रममा जेष्ठ नागरिक परिवारका अन्य सदस्यहरुले पनि स्वास्थ्य परीक्षण गराएका थिए ।स्वाथ्यकर्मी र जनप्रतिनिधिहरु घरमै भत्तासंगै स्वास्थ्य परीक्षण गरिएपछि आफूहरुलाई राहत मिलेको निजगढ ९ तेस्रो लाइनका ९६ वर्षिय जेष्ठ नागरिक सिंहध्वज रानामगरले बताउनुभयो । ‘हिडेर अस्पताल जान पनि सकिदैन, उहाँले भन्नुभयो, घरमै आएर दिएपछि राहत मिलेको छ ।’ वडा कार्यालयले सुरु गरेको घरदैलो स्वास्थ्य परीक्षण सेवा कार्यक्रमबाट आफूहरु लाभान्वित भएको अर्की जेष्ठ नागरिक भोमा बडालले पनि बताउनुभएको छ । उहाँले यस्ता कार्यक्रमलाई वडा कार्यालयले निरन्तर रुपमा जारी राख्नुपर्ने पनि बताउनुभयो ।टोलीमा वडा सदस्य बबिता श्रेष्ठ, चित्रप्रसाद चौलागाई, इन्द्रकुमारी सुनार, वडा कार्यालय सचिव सपना ढुङ्गाना, कार्यालय सहायक कौशिला बजगाई र प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सक प्रिन्स तिवारीसहित अहेव कमलेशकुमार गुप्ता, प्रयोगशाला सहायक सम्झना चौधरी, अनमी अनिता रेग्मीलगायतको सहभागिता रहेको थियो ।
















