कलैया,महागढीमाई नगरपालिका नगर प्रमुख उपेन्द्रप्रसाद यादवले सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेता र सरकारका मन्त्रीहरुलाई नगरपालिका क्षेत्र र महागढीमाई मन्दिर परिसरमा प्रवेश निषेध गरेको घोषणा गर्नुभएको छ ।नगर प्रमुख यादवले बुधवार सामाजिक सन्जल फेसबुकमा स्टाटस लखेर ५ दलीय गठबन्धनका नेता र बहालवाला मन्त्रीहरुलाई नगरपालिका क्षेत्रभित्र प्रवेश गर्न रोक लगाएको घोषणा गर्नुभएको हो । फेसबुकमा उहाँले लेख्नुभएको छ– ‘बारा जिल्ला क्षेत्र नं २ मा महागढीमाई नगरपालिका अन्तर्गत श्रीगढीमाई मन्दिरको प्राङ्गणमा तथा यस नगरपालिका क्षेत्रभित्र पाँच दलीय गठबन्धनका नेतागण तथा मन्त्रीज्युहरूको प्रवेश निषेधित गरिएको कुरा सबैमा जानकारी गराउन चाहन्छु, धन्यवाद ।’मेयर यादवले स्टाटसले सामाजिक सञ्जालमा निक्कै चर्चा पाएको छ । समाजिक सन्जालमा उहाँले गरेको निप्पणीप्रति फेसबुक प्रयोगकर्ता सयौंले प्रतिकृया जनाइसकेका छन ।सङ्घीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालयले नगरपालिका कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत नपठाएको आक्रोशमा यस्तो कदम चाल्नुपरेको पनि नगर प्रमुख यादवले बतााउनुभएको छ । उहाँले आफ्नो स्टाटसमा आफैले कमेन्ट लेख्दै भन्नुभएको छ– ‘नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नभएको तीन महिना बितिसक्यो । अहिलेसम्म पनि अतो पत्तो छैन । यसको कारणले नगरपालिकाको सम्पूर्ण कामकाज बन्द हुनका साथै कर्मचारी लगायत स्थानीयबासिन्दाको जीवन कष्टकर हुने भएको अवस्था छ । महागढीमाई नगरपालीकाको विकासको लागि गठबन्धन दलका नेता, मन्त्रीज्यूहरु बाचा गरे पनि अहिलेसम्म हाकिम नपठाएर विजोगको अवस्था सृजना भएकोले आज म यो कदम उठाउन बाध्य भएको छु ।’कृपा दैनिकसंग कुरा गर्दै नगर प्रमुख यादवले गत फागुन महिनाको सुरुमा तत्कालिन प्रमुख प्रशासकीय अधिकृत महम्मद शेरे मुस्तफा सरुवा भइ अन्त गएपछि महागढीमाई नगरपालिकाको कार्यालय तीन महिनादेखि प्रमुख प्रशासकीय अधिकृत बिहिन अवस्थामा रहेको र नगरपालिकाको दैनिक काम प्रभावित हुदै आएको बताउनुभयो । ‘मन्त्रालय र सत्तागठबन्धन दलका नेताहरुसंग काठमाण्डौंमा भेटेर प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था गर्न पटकपटक माग गरिसके, उहाँले भन्नुभयो, तर नगरको समस्यामा कसैले पनि ध्यान दिएनन ।’उहाँले मन्त्री र सत्तारुढ दलका शीर्ष नेताहरुले नगरपालिकाको समस्या समाधान गर्न चासो नदेखाकोले त्यसैको प्रतिक्रियामा आफूले पनि उनीहरुलाई नगर क्षेत्रमा प्रवेशमा रोक लगाउने घोषणा गरेको बताउनुभयो । ‘यो क्षणिक उत्तेजनामा मात्रै गरिएको निर्णय हैन, नगर प्रमुख यादवले भन्नुभयो, मन्त्री र नेताहरुलाई रोक्न जनता आफै सडकमा उत्रिनेछन ।’ उहाँले कार्यालयमा लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नहुदा सेवाग्राहीहरुको अत्यावस्यक काम हुन नसकेपछि सर्वसाधारणले जनप्रतिनिधिहरुमाथि गालीगलौज गर्र्ने क्रम बढेको र यसले गर्दा आफूहरुले असुरक्षित महशुस गर्नुपरेको गुनासो सुनाउनुभयो । नगर प्रमुख यादवले सर्वसाधारणले मन्दिर परिसर र नगर क्षेत्रमा सदाझै निर्वाद रुपमा प्रवेश गर्न पाउने पनि बताउनुभयो ।प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिकामा विकास निर्माणको काम ठप्प बनेको र शिक्षक र कर्मचारीहरुले तलबसमेत खान नपाएको नगर प्रमुख यादवको गुनासो छ ।२०७९ बैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा महागढीमाई नगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट विजयी यादव बारा क्षेत्र नम्बर २ मा बैशाख १० सम्पन्न उपनिर्वाचनमा पाँच दलीय गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टी नेपाल (जसपा) अध्यक्ष उपेन्द्र यादवलाई जिताउन अहोरात्र खटनुभएको थियो । चुनाव प्रचारको क्रममा पनि नगर प्रमुख यादवले जसपाका उम्मेदवार उपेन्द्र यादवसंग प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था गरिदिन आग्रह गर्दै आउनुभएको थियो । यसअघि २०७४ को स्थानीय तहको निर्वाचनमा पनि महागढीमाई नगरपालिकाको नगर प्रमुख पदमा नेपाली कांग्रेस निर्वाचित हुनुभएको थियो ।



















