निजगढ – नेपाल भ्रमण वर्ष २०२० जिल्ला समन्वय समिति बाराको सदस्यहरुको जिम्मेवारी तोकिएको छ । समितिको जीतपुरसिमरामास्थित जनहित मध्यवर्ती वन समितिको सभाहलमा विहीबार बसेको तेस्रो बैठकले पदाधिकारी र सचिवालय सदस्यको जिम्मेवारी तोकेको हो ।
जिल्ला संयोजक मोहन शर्मा लामिछानेको अध्यक्षतामा बसेको बैठकले समितिको सहसंयोजकमा अमृतलाल श्रेष्ठ, सचिवमा महेश्वर अधिकारी र कोषाध्यक्षमा सुकुमाया वाईवालाई जिम्मेवारी दिने निर्णय गरेको छ । त्यसैगरि सचिवालय सदस्यमा राजुराज गिरी, राज महमद्, शम्भुसिंह ठकुरी, प्रकाश लम्साल, कौशल किशोर सिंहलाई चयन गरेको छ ।
बैठकले फागुन महिनाभित्र स्थानीय तहमा नेपाल भ्रमण वर्ष २०२० नगर समन्वय समिति गठन गर्ने निर्णय गरेको छ । त्यसैगरि बारा जिल्लाको पर्यटकीय गन्तब्यको प्रचार प्रसार गर्ने प्रचार सामाग्री उत्पादन र प्रकाशन गर्ने निर्णय गरेको छ । बैठकले नेपाल भ्रमण वर्ष २०२० भित्र जिल्लामा सञ्चालन गर्ने कार्यक्रमको कार्ययोजना बनाउने र कार्यान्वय गर्ने निर्णय गरेको छ ।
बैठकमा नेपाल भ्रमण वर्ष २०२० प्रदेश २ समन्वय समितिका सल्लाहकार युवराज लामा, ईलाका प्रशासन कार्यालय सिमरामा प्रमुख कृष्ण गैरे, जीतपुरसिमरा २१ का वडा अध्यक्ष कृष्णसिंह ठकुरी, निजगढ १ का वडा अध्यक्ष केशव ढोडारी, जीतपुरसिमरा उद्योग वाणिज्य संघका सदस्य मनोज गुप्ता, पत्रकार रेशम तिवारीको विशेष उपस्थिति रहेको थियो ।