जीतपुर,जीतपुर गौशालाको सार्वजनिक जग्गा कब्जा गरेर बनाइएका भौतिक संरचनामा जीतपुरसिमरा उपमहानगरपालिकाले आइतवार डोजर लगाएर भत्काएको छ ।स्थानीय केही व्यक्तिहरुले ३ दशकदेखि अनाधिकृत भोगचल गर्दै आएकोे १ बिगाहा ५ कठ्ठा जग्गामा बनेका १० वटा पक्की सटर भत्काएर उपमहानगरले सो क्षेत्र खाली गराएको हो । उपमहानगरपालिकाका मेयर राजन पौडेल, प्रमुख प्रशाकीय अधिकृत हरीलाल पुरी संरचना हटाउन २ वटा डोजरसहित बिहान १० बजे आफै गौशालामा पुग्नुभएको थियो ।पथलैया–वीरगन्ज औद्योगिक करिडोरसँग जोडिएको अर्बै मूल्यको सो जमिनमा विगत लामो समयदेखि केही व्यक्तिहरुले भौतिक संरचना बनाएर स्थानीयहरुसँग मनोमानी ढंगले भाडा उठाएर अपचलन गर्दैआएका थिए ।जीतपुर गौशालाको नाममा रहेको सो सार्वजनिक जग्गा २०५२ सालमा ‘वीरगन्ज जीतपुर गौशाला’ नामको एक गैरसरकारी संस्था दर्ता गरेर भोगचलन हुँदै आएको थियो । सो जग्गामा वीरगन्जका केही जग्गा कारोबारीहरूले भौतिक संरचना निर्माण गरेर जीतपुरका स्थानीयलाई प्रतिसटर १७ देखि २० हजार रुपैयाँ मासिक भाडामा लगाउँदै आएको स्थानीय व्यवसायीहरुको भनाइ छ ।जीतपुरसिमरा उपमहानगर–७ का श्रीराम साह कानुले सार्वजनिक जग्गा संरक्षणमा उपमहानगरले चालेको कदम असाध्यै प्रशंसनीय रहेको बताउनुभयो । ‘यो काम २५÷३० वर्ष अघि नै हुनुपर्ने थियो तर त्यो बेला पावर, पैसाको बलमा खाली हुन सकेन,’ उहाँले भन्नुभयो । ‘सार्वजनिक जग्गामा सटर बनाएर आफूखुसी पैसा उठाउने तर नगरपालिकालाई भने राजस्व नतिर्ने प्रचलन थियो ।’भूमिसुधार लागु भएपछि २०२२ सालमा जीतपुरको जग्गा नापी गराएर जीतपुर गौशालाका नाममा फिल्डबुक तयार भएको थियो । सोही फिल्डबुकको आधारमा २०३६ सालमा तत्कालीन प्रधानपञ्चको कार्यालयबाट सिफारिस लिएर जीतपुर गौशालाका नाममा लालपुर्जा कायम भएको हो ।जीतपुर गौशालाको नाममा रहेको जग्गा हडप्ने मनासयले केही व्यक्ति मिलेर २०५२ सालमा जिल्ला प्रशासन कार्यालय पर्सामा ‘जीतपुर वीरगन्ज गौशाला’ नामक गैरसरकारी संस्था खोली अनाधिकृत रुपमा जग्गा अतिक्रमण गरिरहेको भन्दै उपमहानगर जिल्ला अदालत, उच्च अदालत हुँदै सर्वोच्च अदालतसम्म पुगेको थियो ।सर्वोच्चले २३ जेठ २०७९ मा उक्त जग्गा जीतपुर वीरगन्ज गौशाला नामको गैरसरकारी संस्था वा व्यक्ति विशेषको नहुने फैसला गरेपछि सार्वजनिक कायम भएको हो । अदालतको सोही फैसलाको आधारमा उपमहानगरले आइतबार गौशालामा रहेको अनाधिकृत भौतिक संरचना भत्काइएको नगरप्रमुख पौडेलले बताउनुभयो ।उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत पुरीले सार्वजनिक जग्गामा बनेका संरचना हटाउन प्रशासनले खुलेर सहयोग नगरे पनि स्थानीय बासिन्दाको सहयोगमा संरचना हटाउने काम सफल भएको बताउनुभयो ।उहाँले संरचना भत्काउने क्रममा झडपको स्थिति सिर्जना नहोस् भन्नका लागि मात्रै प्रशासनले थोरै संख्यामा सुरक्षाकर्मी पठाएको तर खुलेर सहयोग नगरेको गुनासो गर्नुभयो । ‘यो जग्गा अब उपमहानगरपालिकाले आफ्नो मातहतमा राखेर संरक्षण गर्छ ।’ पुरीले भन्नुभयो ।अदालतको फैसला पश्चात सातौं नगरसभा मार्फत उपमहानगरले सार्वजनिक जग्गा अतिक्रमण हटाउने निर्णय गरेको थियो । गौशालाको सो सार्वजनिक जग्गामा हाल करिब ३०÷३५ वटा गाई, बाच्छाबाच्छी छन् । ती चौपायाको हेरचाहका लागि उपमहानगरले आइतबारदेखि दैनिक ज्यालादारीमा २ जना कर्मचारी समेत खटाएको छ ।यसअघि उक्त क्षेत्रमा बनेको घरटहरा खाली गर्न उपमहानगरपालिकाले बैशाख १४ गते पहिलो पटक सूचना जारी गरेको थियो । उपमहानगरपालिकाले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय कलैया र सशस्त्र प्रहरी बललाई पत्राचार गर्दै सुरक्षा सहयोग माग गरेको थियो । वीरगन्ज जीतपुर गौशाला नामक संस्थाले भने घरटहरा भत्काउने कार्यमा रोक लगाउन जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको थियो । नगरपालिकाको पत्रको जवाफमा दुई पक्षबीच छलफल गराई आवश्यक कार्य गर्ने भनि जवाफ फर्काएपछि जमिन खाली गराउन जिल्ला प्रशासन कार्यालयले असहयोग गरेको आरोप लागेको हो ।


















