वीरगञ्ज,वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसका आन्दोलनरत विद्यार्थीहरुको आन्दोलनमा नेकपा एमालेले पनि ऐक्यबद्धता जनाएको छ ।नेकपा एमाले पर्साका संयोजक डा. विश्वम्भर शर्माले बिहिवार एक विज्ञप्ति जारी गर्दै सयुँक्त विद्यार्थी संगठनको संघर्षका कार्यक्रममा समर्थन जनाउनुभएको हो ।स्नातक तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी बिजय शर्माको परीक्षा दिएर फर्किने क्रममा भएको दुर्घटनामा परी निधन भएकोमा विज्ञप्तिमार्फत श्रद्धाञ्जली तथा परिवारप्रति समवेदन पनि प्रकट गरिएको छ ।ठाकुरराम बहुमुखी क्याम्पसका विद्यार्थीहरूले गरिरहेको प्रदर्शनप्रति समर्थन जनाउँदै क्याम्पसका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।पर्सा जिल्लाका पार्टी प्रतिनिधिहरू र क्याम्पसका जिम्मेवार निकायको उपस्थितिमा त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रकसँग भएको छलफल र निर्णय विपरित जिल्लाभन्दा बाहिर केन्द्र राख्नुले पार्टीका नेताहरुप्रति अविश्वास गरिएको संयोजक शर्माको ठहर छ ।केन्द्र परिवर्तनकै कारण एक विद्यार्थीले ज्यान गुमाउनुपरेको शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ । सर्वदलीय बैठकले गरेको निर्णयलाई तुरुन्तै कार्यन्वयन गर्न पनि नेकपा एमाले पर्साले माग गरेको एमाले निकट अनेरास्ववियु वीरगञ्ज महानगर कमिटीका अध्यक्ष आशिफ अहमदले जानकारी दिनुभयो ।यसअघि नेपाली कांग्रेस र जनमत पार्टीले पनि विद्यार्थीहरुको आन्दोलनमा ऐक्यबद्धता जनाइसकेका छन् ।


















