निजगढ,संविधान दिवसको अवसरमा बारा जिल्लामा सोमवार विविध कार्यक्रमको आयोजना गरिएको छ ।

निजगढ नगरपालिकाले साँझ दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ । यसअघि बिहान सरसफाइ तथा झण्डोलोत्तन कार्यक्रम आयोजना गरेको नगर कार्यपालिका कार्यालयले साँझ दिपावली गरेको हो ।

दीप प्रज्वलन कार्यक्रममा निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरीले दीप प्रज्वलन गरेर सुभारम्भ गरेपछि कार्यक्रमका सहभागीले पनि दीप प्रज्वलन गरेका थिए । कार्यक्रममा निजगढ नगरपालिकाकी उपप्रमुख सोम माया थिङ, प्रमुख प्रशासकीय अधिकृत सुमन धिताल, विभिन्न राजनैतिक दलका प्रमुख, प्रतिनिधिहरु, वडा अध्यक्ष तथा जनप्रतिनिधिलगायत नगरपालिकाका कर्मचारीहरुको उपस्थिति रहेको थियो । यसअघि संविधान दिवसको अवसरमा निजगढ नगरपालिकाको कार्यालयले सोमवार बिहान कार्यालय परिसरमा सरसफाइ गर्नुको साथै नगर प्रमुख पुरीले नेपालको राष्ट्रिय झण्डा झण्डोलोत्तन गर्नुभएको थियोे ।

कार्यक्रममा निजगढ नगरपालिकाका उपप्रमुख थिङ्ग, प्रमुख प्रशासकीय अधिकृत धिताल, विभिन्न वडाका वडा अध्यक्षहरु, निजगढस्थित सुरक्षा निकायका प्रमुखहरु एवम् नगर कार्यपालिकाका कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो । झण्डोलोत्तनपछि आयोजित कार्यक्रममा बोल्दै नगरप्रमुख पुरीले नेपालको संविधानले सबै वर्ग, समुदाय, क्षेत्र, भाषाभाषीको हक अधिकारको संरक्षण, समानुपातिक समावेशिताको सुनिश्चिता गरी राष्ट्रिय एकतालाई दरिलो बनाएको बताउनुभयो ।

त्यसैगरी संविधान दिवसको अवसरमा सोमवार बिहान निजगढ नगरपालिका वडा नम्बर ९ वडा कार्यालयको पहलमा ठाडो लाईनमा पनि सरसफाइ गरिएको छ । वडा अध्यक्ष रामचन्द्र कटुवालको सक्रियतामा भएको सो सरसफाइ कार्यक्रममा इलाका प्रहरी कार्यालयदेखि दक्षिणतर्फ गौरीशंकर क्याम्पससम्मको सडकको दाँयाबाँया क्षेत्रको झाडी, बुट्यान र नालाको पनि सफाइ गरिएको थियो । कार्यक्रममा क्याम्पस रोड टोल बिवकास अध्यक्ष फडिन्द्र सापकोटालगायत स्थानीय बासिन्दा र सुरक्षाकर्मीहरुको पनि सहभागी रहेको थियो ।

त्यसैगरी संविधान दिवसको अवसरमा वडा नम्बर ७ वडा कार्यालयले पनि दीपावली कार्यक्रमको आयोजना गरेको वडा अध्यक्ष टेकबहादुर लामाले जानकारी दिनुभयो । कार्यक्रममा जनप्रतिनिधि र वडा कार्यालयका कर्मचारीहरुको पनि सहभागिता रहेको थियो ।

कोल्हबी,बाराको कोल्हबीमा प्रभातफेरि कार्यक्रम गरि संबिधान दिवस तथा राष्ट्रिय दिवस २०७९ मनाइएको छ ।

कोल्हबी नगरपालिकाको आयोजनामा गरिएको कार्यक्रमको प्रमुख अतिथिमा कोल्हबी नगरपालिकाको मेयर रामप्रसाद चौधरी हुनुहुन्थ्यो भने बिशिष्ट अतिथिहरुमा कोल्हबी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत मोहम्मद साविर ठकुराई, पूर्वनगर प्रमुख भरतबहादुर भण्डारी तथा अतिथिहरुमा ईलाका प्रशासन कोल्हबीका प्रमुख नवीनकुमार चौधरी, ईलाका प्रहरी कोल्हबीका प्रमुख संतोष कुमार दाहाल, कोल्हबी नगर उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मी साह, नेकपा एमाले कोल्हबीका प्रतिनिधि पुरनदेव चौधरी, नेपाली कांग्रेस कोल्हबीका प्रतिनिधि बिरेन्द्रप्रसाद चौधरी, नेकपा माओवादी केन्द्रका रामचन्द्र साफी, तपेश्वर चौधरी, जनता समाजवादीका यमबहादुर कटुवाल, राप्रपाका रेजेन्द्र मैनाली र लोसपाको हरिचन्द्र पनुहरलगायत संचारकर्मीहरुको पनि सहभागिता रहेको थियोे ।

कोल्हबी नगरपालिककी नगर उपप्रमुख लक्ष्मी देवी चौधरीको अध्यक्षतामा भएको सो कार्यक्रमको संचालन नगरपालिकाका योजना अधिकृत अजय उप्रेतीले गर्नुभएको थियोे ।

बारा,संविधान दिवसको अवसरमा कलैयामा प्रभातफेरि कार्यक्रमको आयोजना गरिएको छ ।

नेपाल पत्रकार महासंघ बारा, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त आयोजनामा प्रभातफेरि निकालिएको हो । कलैयास्थित जिल्ला प्रशासन कार्यालयबाट निकालिएको प्रभातफेरि सभामा परिणत भएको थियो । प्रभातफेरीमा बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल, प्रहरी उपरीक्षक होविन्द्र बोगटी, सुरक्षा निकायका प्रमुख, नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारी, विद्यालयका शिक्षक र छात्रछात्रा, सरकारी कार्यालयका कर्मचारी, पत्रकार महासंघ बाराका सदस्य र विभिन्न संघसस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

प्रभातफेरिपछि आयोजित कोणसभालाई प्रमुख जिल्ला अधिकारी कटुवाललगायतले सम्बोधन गरेका थिए । संविधान दिवसको अवसरमा जिल्लाभर विभिन्न संघसंस्था र सरकारी निकायले विविध कार्यक्रमको आयोजना गरी मनाइरहेका छन् ।

मनहर्वा,संविधान दिवसको अवसरमा ब्रम्हकुमारी राजयोग समिति पिलुवाले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १६ स्थित शान्ति बाटिकामा झण्डोलोत्तोलन सहितको विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

उपमहानगरपालिका नगर प्रमुख राजन पौडेलको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको हो । बाटिका परिषरमा चन्द्र, सूर्य अंकित राष्ट्रिय झण्डा मेयर पौडेल, बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवाल, ब्रम्हकुमारी राजयोग सेवा समिति वीरगन्ज क्षेत्रीय प्रमुख रविना दिदीले संयूक्त रुपमा फहराउनु भएको हो ।

झण्डोलोत्तनपछि आयोजित प्रवचन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नगर प्रमुख पौडेलले अध्यात्मिक र विज्ञानलाई सँगै लिएर जानु पर्ने बताउनुभयो । यसो गर्न सकेमात्रै मानव हित र विकासको सन्तुलन कायम हुने उहाँको भनाइ थियो ।

फरक प्रशंगमा कुरा गर्दै नगरप्रमुख पौडेलले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणले गति लिने बाटो खुलेसँगै टाँगियाबस्ती ब्यवस्थापनमा प्रमुख चुनौती थपिएको बताउनुभयो । त्यहाँका १ हजार ४७६ बढी घरधुरीको न्यायोचित व्यवस्थापनमा हामीले भुमिका खेल्नु पर्ने उहाँको भनाइ थियो ।

यस्तै प्रमुख जिल्ला अधिकारी कटवालले समाज नकरात्मक हुँदै गएको भन्दै चिन्ता प्रकट गर्नुभयो । समाज आफुले गर्न नसकेकोमा भन्दा अर्काको प्रगतिका कारण तनावमा छ । सकारात्म शिक्षा अहिलेको मुख्य आवश्यकता हो । भन्नुभयो ।

तर नकारात्मक विचार र सूचनाको पकड बलियो बन्दै गएको समाजलाई सकारात्मक बनाउन शान्ति सहितको शिक्षाको ठुलो भुमिका हुन्छ भन्दै उहाँले त्यसको लागि ब्रम्हकुमारी राजयोगको भुमिका अनुकरणीय रहेको बताउनुभयो ।

कार्यक्रम सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अर्याल, जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख होविन्द्र बोगटी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख उपरीक्षक सन्तोष ढुङ्गेल नेपाली सेनाका प्रमुख सेनानी भुपेन्द्र गोदार, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र थापा, संजय भट्टराई लगायत सुरक्षा प्रमुखहरुको सहभागिता थियो ।

यस्तै वडा नं. १६ का अध्यक्ष हरिदेव खरेल, डुमरवाना क्याम्पसका प्रमुख राधेश्याम शिवाकोटी, सामाजिक अभियन्ता प्रकाश थारु, स्थानीय समाजिक अगुवा लगायत ब्रम्हकुमरी राजयोगप्रति आस्था राख्नेहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

सोही अवसर पारेर ब्रम्हकुमारी राजयोग युवा प्रभागले शान्ति बाटिकामा आयोजना गरेको साताब्यापी योग साधना शिविरको समेत उद्धाटन गरिएको छ । भारतको दार्जिलिङ्ग निवासी योगगरु राजयोगी दुर्गाप्रसाद काफ्लेले शिविरको सहजीकरण गर्नुभएको हो ।

कार्यक्रम राजयोगी गुणराज लामिछानेको सहजीकरण र ब्रम्हकुमारी गोमा दिदीको संचालनमा सम्पन्न भएको थियो ।

Leave a Reply