निजगढ,निजगढ नगरपालिकाले यो वर्ष निजगढमा ६ किमी कालोपत्र सडक निर्माण गर्ने भएको छ ।‘नगर प्रमुख पूर्वाधार विकास कार्यक्रम’ अन्तर्गत निजगढका सबै वडामा ५-५ सय मिटरको दरले कालोपत्रे सडक निर्माण हुन लागेको हो । नगरपालिकाका इन्जिनियर नविन खनालका अनुसार वडा नम्बर १ को गोरु बजारबाट दक्षिण गुम्बा, वडा नम्बर २ को लोकप्रिय आविको पश्चिमतर्फबाट दक्षिण परिवर्तनशील टोल र वडा नम्बर ३ को गुम्बाबाट उत्तरतर्फ ५÷५ सय मिटर सडक कालोपत्र हुने भएको हो ।
त्यसैगरी वडा नम्बर ४ को मोहोरी पार्क जाने सडक, वडा नम्बर ५ मा पूर्वटोल, वडा नम्बर ६ को भमरा टोलबाट भमरा खोला किनारा हुदै दक्षिण दनुवार टोल र वडा नम्बर ७ को डाडा टोलको सडक पनि सोही कार्यक्रम अन्तर्गत कालोपत्र गरिने भएको छ ।त्यसैगरी वडा नम्बर ८ को कृषि भवन सडक र ९ नम्बरमा शान्ति टोल सडक पनि कालोपत्रे हुने इन्जिनियर खनालले जानकारी दिनुभयो । वडा नम्बर १० मा भने नयाँबस्तिबाट लाल गाउँ जाने सडक, वडा नम्बर ११ को रतनपुरी गाउँबाट पश्चिम टोलसम्म र वडा नम्बर १२ को रामथली तथा वडा नम्बर १३ को डम्बरपुरमा ५ सय मिटर सडक कालोपत्रे गरिने भएको छ ।
कार्यक्रम अन्तर्गत निर्माण हुने सडकको ठेक्का प्रक्रिया पुरा भइसकेको र केही दिनभित्र निर्माण कार्य शुरु हुने खनालले जानकारी दिनुभयो । निजगढ नगरपालिका कार्यालयले गत जेष्ठ २७ गते गरेको विद्युतीय बोलपत्रमा राष्ट्रनिर्माण कन्ट्रक्शन एण्ड सप्लायर्स र हरहर महादेव काठमाण्डौंले न्यूनतम अंक कबोलेर उक्त सडक निर्माणको लागि ठेक्का सकार गरेको छ ।निजगढ नगरपालिकाले अघिल्लो आर्थिक वर्षबाट नगर प्रमुख पूर्वाधार विकास कार्यक्रम अन्तर्गत प्रतेक वडामा ५÷५ सय मिटरको दरले सडक कालोपत्रे गर्ने योजना शुरु गरेको हो ।

















