कृष्णमोहन साह,
सेढवा, ९ भदौँ– वीरगंजलगायत पर्सा जिल्ला र बाहिरी जिल्लाका विभिन्न स्थानबाट आउने स्थानीयलाई पर्साकाे ठाेरी गाउँपालिकाले निशुल्क पिसिआर परीक्षण गर्ने भएको छ ।

पछिल्लो समय मुलुकका विभिन्न ठाउँबाट ठोरी आएकाहरुमा कोरोना संक्रमण देखिन थालेपछि गापा कार्यालय घ्याङडाँडामा आइतवार बसेको गाउँ कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको हो ।

कार्यपालिका बैठकले यसअघि भारत र अन्य मुलुकबाट ठोरी आइ क्वारेन्टाइनमा बसेकाहरुको मात्र पिसिआर परीक्षण गर्ने गरेकोमा अब वीरगंज र मुलुक भित्रकै विभिन्न ठाउँबाट ठोरी आएकाहरुको पनि लगत संकलन गरेर अनिवार्यरुपमा १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्न लगाउने र क्वारेन्टाइनमा बसेकाहरुको निशुल्क पिसिआर परीक्षण गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले जानकारी दिनुभयो ।

त्यसैगरी भारत र अन्य मुलुकबाट ठोरी अएकाहरुलाई गापाको क्वारेन्टाइनमा राखिने र परिवारको स्वीकृति भएमा होम क्वारेन्टाइनमा पनि बस्न सकिने निर्णय भएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । बैठकले गापा भित्र रहेका सम्पुर्ण होटेल, खाजाघर तथा चिया पसलहरु पुर्णरुपमा बन्द गर्ने निर्णय गर्दै खाद्यान्न र अत्यावश्यक पसलहरु बिहान ७ बजेदेखि ९ बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म मात्र खोल्न पाइने निर्णय पनि गरेको छ । तर अत्यावश्यक सेवा प्रदान गर्ने र बिक्री वितरण गर्ने पसलहरुले अनिवार्यरुपमा साबुन पानी वा सेनिटाइजरको व्यवस्था गर्नुपर्ने निर्णय भएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

अहिलेसम्म ठोरीमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । खुल्ला सिमाना र मुलुक भित्रकै विभिन्न ठाउँबाट आउनेहरुको अभिलेख नराख्दा संक्रमण फैलने डर बढेकोले नेपाल भारत सिमा क्षेत्रमा कडाइ गर्न सशस्त्र र नेपाल प्रहरीसंग समन्वय भइसकेको पनि उहाँले बताउनुभयो । यस्तै कोरोनाका बारेमा विभिन्न खाले अफवाह फैलाएर समाजमा त्रासको अवस्था उत्पन्न हुन थालेको भन्दै बैठकले ठोरीका सामुदायिक विद्यालयका शिक्षकहरुलाई कोरोना सम्बन्धी जनचेतना जगाउन स्वयम् सेवकका रुपमा परिचालन गर्ने निर्णयसमेत गरेको छ ।

यसैगरी गाउँपालिकाभित्र भोजभतेर, खेलकुद, भेला, जात्रा लगायतका भिडभाडजन्य कार्यहरु निषेध गर्ने र कोरोना संक्रमण रोकथाममा कार्यपालिकाले गरेको निर्णय कार्यान्वयनमा सहयोग गर्न सम्पुर्ण ठोरीबासीहरुसंग अपील गर्ने निर्णय पनि भएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here