निजगढ,बारा निर्वाचन क्षेत्र नं. १ मा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अच्युतप्रसाद मैनालीले आज बिहान निजगढबाट चुनावी घरदैलो अभियानको शुरु गर्नुभएको छ ।उम्मेदवार मैनालीले निजगढ नगरपालिका ४ स्थित सहिद हिरालाल गौतमको सालिकमा माल्यार्पण गरी सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै निजगढको सिंगौलबाट घरदैलो अभियानको औपचारिक शुभारम्भ गर्नुभएको हो ।

शहीद गौतमको सालिकमा माल्यार्पणपश्चात् मैनालीले निजगढ नगरपालिका वडा नं १, २ र ३ मा मतदाता घरदैलो गर्नुभएको थियो । उहाँले ३ वटै वडाका विभिन्न बस्तिमा पुगेर एकै दिन घरदैलो गर्नुभएको हो ।
अभियानका क्रममा उम्मेदवार मैनालीलाई स्थानीय बासिन्दाले गाउँगाउँमा अविर, माला लगाएर स्वागत गरेका थिए । सो क्रममा मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उम्मेदवार मैनालीले पार्टीको आगामी नीति, विकासका एजेन्डा र प्रतिबद्धताहरूबारे जानकारी गराउनुभएको छ ।
नेकपा एमाले निजगढ निर्वाचन परिचालन कमिटीका संयोजक सुदर्शनप्रसाद कोइरालाका अनुसार घरदैलो कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता तथा स्थानीय बासिन्दाको ठुलो संख्यामा सहभागिता रहेको थियो । एमालेले भोलि पनि निजगढ नगरपालिकामा घरदैलो अभियानलाई जारी राख्ने जनाएको छ । भोलि वडा नम्बर ७ बाट घरदैलो शुरु गरिने संयोजक कोइरालाले जानकारी दिनुभयो ।



















