काठमाडौं,निर्वाचन आयोगले ल्याएको ’राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि २०८२’ मा सत्तारूढ नेकपा (एमाले) ले पनि असरमति जनाएको छ ।स्वमूल्याङ्कन राजनीतिक दलहरूको आन्तरिक मामिला भएको र त्यसमा निर्वाचन आयोगले हस्तक्षेप गर्न खोजेको एमालेको भनाई छ ।आयोगले ’राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि २०८२’ माथि आजसम्म सुझाव दिन दल तथा सरोकारवालाहरूलाई आग्रह गरेको थियो ।

‘स्वमूल्याङ्कन राजनीतिक दलहरूको आन्तरिक मामिला हो । नेपालको संविधानको भाग २९ को धारा २६९ देखि धारा २७२ सम्म राजनीतिक दलसम्बन्धी व्यवस्था छ । राजनीतिक दलको गठन, दर्ता, सञ्चालनसम्बन्धी व्यवस्था दलको स्वायत्तता र स्वतन्त्रताको मर्मभित्र रही जनताको आकांक्षाबमोजिम हुने भएकाले यो स्वनियमनमा चल्नपर्ने र यसको मूल्याङ्कन जनताले जनादेशमार्फत् गर्ने भएकाले स्वनियमन दलको आफ्नै आन्तरिक विषय हो,’ एमाले केन्द्रीय निर्वाचन प्रमुख नीरज आचार्यले भन्नुभयो ।

सैद्धान्तिक रूपमै राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि दल स्वयंको आन्तरिक विषय भएकाले राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधिप्रति एमालेको अहसमति रहेको उहाँले बताउनुभयो ।
विपक्षी पार्टीहरु एक ठाउँमा
काठमाण्डौ – संसदको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित विपक्षी पार्टीहरु राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि २०८२ विरुद्ध एक ठाउँमा उभिएका छन ।विपक्षी दलले यसलाई संविधान विपरित भनेका छन । बुधवार बसेको विपक्षी दलहरुको बैठकले कार्यविधिले दलमाथि नियन्त्रण गर्ने नियत राखेको ठहर गरेको छ ।
माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधिले कांग्रेस र एमालेबाहेकका दलहरुलाई सक्ने योजना रहेको आरोप लगाउनु भयो । यसमा निर्वाचन आयोग पनि लागेको उहाँको आरोप छ ।
निर्वाचन आयोगले सचिव नेतृत्वको समितिले राजनीतिक दलहरुको मूल्याङ्कन, सञ्चालन, रेखदेख, निर्देशन गर्ने व्यवस्थासहित कार्यविधिको मस्यौदा तयार गरेको छ । यसले राजनीतिक पार्टीहरुलाई नियन्त्रण गर्ने भन्दै साना तथा विपक्षी दलहरु एक ठाउँमा उभिएका हुन ।आयोगले राजनीतिक दल स्वमूल्याङकन कार्यविधि २०८२ को मस्यौदामा आजसम्म सुझाव तथा रायसल्लाह दिन सरोकारवालालाई भनेको छ ।प्रस्तावित कार्यविधिमा राजनीतिक दलले आफ्नो आन्तरिक कार्यविधि व्यवस्थित गर्दै कामकारबाही पारदर्शी र जिम्मेवार बनाउन स्वमूल्याङ्कन गरी आयोगमा प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था छ ।

Leave a Reply