काठमाण्डौं,नेकपा एमालेले नेता भीम रावललाई संगठित सदस्यबाट हटाएको छ । बुधवार बसेको एमाले सचिवालय बैठकले उक्त निर्णय गरेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।भाटभटेनीका सञ्चालक मीन गुरुङबाट पार्टीलाई उपहार पाएको जग्गा प्रकरणमा बोलेकाले उहाँलाई कारबाही गरिएको हो । यहाँका अनुसार सो विषयमा बोल्ने बिन्दा पाण्डे र उषाकिरण तिमिल्सिनालाई एमालेले ६ महिनाका लागि निलम्बन गरेको छ । उनीहरू तीनै जनाले उपहारमा जग्गा लिन नहुने अडान राखेका थिए । यसपछि गत कात्तिक ४ गते एमालेले रावलसहित स्थायी कमिटी सदस्य डा.बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनालाई स्पष्टीकरण सोधेको थियो ।
यसैबीच एमालेले पुस २१ र २२ गते केन्द्रीय कमिटी बैठक बस्ने निर्णय गरेको छ । पार्टी कार्यालय च्यासलमा बुधवार बसेको एमाले सचिवालय बैठकले केन्द्रीय कमिटी बैठक आह्वान गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
बैठकले केन्द्रीय कमिटीका लागि चारवटा एजेण्डा तय गरेको पनि उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार राजनीतिक प्रतिवेदन, संगठनिक काम, सचिवालय, स्थायी कमिटी र पोलिटब्यूरोका निर्णय अनुमोदनलगायतका एजेण्डा तय गरेको छ ।