देशमा अहिले लगानीको वातावरण छैन । भएका उद्योगहरु समेत टाट पल्टिरहेको अवस्थामा छन् । उद्योग धन्दा र कारोबार नै बन्द हुने अवस्थामा पुगेपछि केही व्यवसायीहरु त अहिले आन्दोलनमा नै छन् ।बैंकले लगानी गर्ने वातावरण छैन । यस्तो अवस्थामा उद्योग संचालन गर्नु आफैमा सकारात्मक कुरा हो । फेरि उद्योगधन्दाहरु बढी काठमाडौंतिर केन्द्रित भइरहदा तराई मधेशको भित्री शहरहरुमा पनि उद्योग संचालनमा आउनु भनेको सबैका लागि खुसीको कुरा हो ।फेरि नेपाल कृषि प्रधान देश भन्ने गरिन्छ तर नेपालमा वर्षेनी अबौं रुपैयाँको चामल तथा धानहरु आयात हुने गरेको छ । हालै मात्र सार्वजनिक एक तथ्यांक अनुसार नौं अर्बको धान नेपाल भित्रिएको छ ।कृषिमा समेत देश आत्मनिर्भर हुन नसकेको अवस्थामा चालम उद्योग संचालनमा आउनु राम्रो पक्ष हो । एक व्यवसायीले करोडौंको लगानीमा आधुनिक प्रविधिबाट निजगढमा चामल उत्पादन गर्ने उद्योग स्थापना गरेका छन । यसले कृषि र व्यापार प्रवद्र्धनमा निश्चितै रुपमा सहयोग पुग्ने छ । अब यसको संरक्षण हुन जरुरी छ । संघीय सरकार सहित प्रदेश र स्थानीय सरकारहरुले यस्ता उद्योगहरुको संरक्षणका लागि नीति बनाउन आवश्यक छ ।यस्ता उद्योगहरु रुग्न हुनबाट जोगाउनका लागि पनि पहल गर्न आवश्यक छ । त्यसो त यसको संरक्षणका लागि धान उत्पादनमा पनि स्थानीयहरुले जोड दिन जरुरी छ । उद्योग धन्दा तथा कलकारखानाका सवालमा कुरा एउटा गर्ने र व्यवहार अर्को गर्ने परिपाटीको अन्त्य हुन जरुरी छ । यतातिर सरकारहरुको ध्यान जान नितान्त आवश्यक छ ।















