सिमरा,जंगली हात्ती पसेर बस्तिमा आक्रमण गर्ने क्रम नरोकिएपछि जीतपुरसिमरा वडा नम्बर १६ टाँगियाका बासिन्दाहरु यतिबेला आतङ्कित बनेका छन ।एक साताअघि स्थानीय एकजनाको ज्यान लिएको ‘यमगज’ नामको सो हात्तीले त्यसपछि पनि पटकपटक बस्तिमा पसेर घरगोठ भत्काउने र बाली खाने क्रम नरोकिएपछि स्थानीय त्रसित बनेका हुन ।हात्ती फेरि पनि पटकपटक बस्तिमा पसेपछि स्थानीयले असुरक्षित महशुस गरेको टाँगियाबस्ति सरोकार समितिका संयोजक एवंम स्थानीय अगुवा रमेश सापकोटाले बताउनुभयो । उहाँका अनुसार आइतवार राति पनि बस्तिमा आएर हात्तीले स्थानीय प्रकास मगरको घरसंगै रहेको गोठ भत्काउनुको साथै १ दर्जनभन्दा बढी किसानको खेतमा पसरे केरा र मकै बाली खाएर नष्ट पारेको थियो । हात्तीले बस्तिको दक्षिततर्फको जंगल छेउको माझी टोल, भक्ते चोक र ७ नम्बर टोलहरुमा आतङ्ग मच्याएको सापकोटाले जानकारी दिनुभयो ।‘जुनसुकै बेला पनि पसेर आक्रमण गर्न सक्ने डर बढेको छ, उहाँले भन्नुभयो, घाँस दाउरा गर्न त परै जाओस घरभित्र पनि राम्ररी सुत्न सकिएको छैन ।’ उहाँले हात्तीको गतिविधि बढेपछि केही दिनयता बस्तिका सर्वसाधारण एक्लैदुक्लै हिडन र साँझ बिहान घर बाहिर निस्कने क्रम पनि पातलो बनेको छ । उहाँले बस्तिमा आतङ्क मच्याउने हात्ती नियन्त्रण गर्न वन र स्थानीय प्रशासनले चासो नदेखाएकोमा चिन्ता पनि व्यक्त गर्नुभयो । पर्सा वन्यजन्तु निकुञ्जबाट घरपालुवा हात्ती ल्याएर हात्ती धपाउनुपर्ने सापकोटाको भनाइ छ ।हात्तीको आक्रमणबाट बुधवार दिउसो स्थानीय ४५ बर्षका डापान दर्लामी मगरको ज्यान गएपछि बस्तिमा त्रास फैलिएको हो । दर्लामीको ज्यान लिएपछि पनि सो हात्ती रातभरि गाउँमा बसेर किसानको केरा र मकै बाली खाएर क्षति गरेको र भोलिपल्ट बिहान ३ बजेपछि मात्रै जंगल पसेको स्थानीयले बताएका छन । अहिले पनि सो हात्ती बस्ती नजिकैको जंगलमा बस्दै आएको र फेरि पनि गाउँमा पसेर आक्रमण गर्न सक्ने आशंकामा स्थानीय त्रसित बनेका हुन ।डिभिजन वन कार्यालय बाराका प्रमुख विनोद सिंहले पनि हात्ती जुनसुकै बेला पनि बस्तिमा पस्न सक्ने भएकोले सर्तक रहन टागियाबस्तिका सर्वसधारणसंग आग्रह गर्नुभएको छ । उहाँले वन क्षेत्र आसपासका अन्य बस्तिका बासिन्दाहरुलाई पनि सर्तक रहन अनुरोध गर्नुभएको छ ।डेढ साताअघि रौतहटबाट बारा जिल्लाको वनमा देखापरेको सो हात्ती कुनै खास कारणले बथानबाट लखेटिएपछि विछिप्त बनेको र मानवबस्तिमा पसेर जथाभावी आक्रमण गरेको हुनसक्ने वन कार्यालय प्रमुख सिंहको भनाइ छ । यमगज नामको सो हात्तीले ३ साताअघि मकवानपुरको मनहरीमा पनि एक महिलाको ज्यान लिएको उहाँले जानकारी दिनुभयो ।

Leave a Reply