सिमरा,जीतपुरसिमरा उपमहानगरपालिकाको वन क्षेत्रमा ३ महीनाको अवधिमा ४ जना स्थानीयको ज्यान लिने नरभक्षी बाघ अझै नियन्त्रणमा आउन नसकेपछि स्थानीयमा त्रास थप बढ्को छ ।डिभिजन वन कार्यालय बारा र पर्सा राष्ट्रिय निकुञ्जका सुरक्षाकर्मीहरुको प्रयासका बाबजुद पनि बाघ नियन्त्रणमा लिन नसकिएपछि स्थानीयबासीमा त्रास बढ्दै गएको हो ।
पछिल्लो तीन महिनाको अवधिमा जीतपुरसिमरा उपमहानगरपालिकाको विभिन्न वन क्षेत्रमा भएको बाघको आक्रमणबाट चार जनाले ज्यान गुमाएका छन ।बाघको आक्रमणबाट गत असार ४ गते जीतपुरसिमरा वडा नम्बर २२ को दक्षिणकाली सामुदायिक वनमा बाख्रा चराउँदै गरेका चन्द्रबहादुर भ्लोन, भाद्र ११ गते वडा नम्बर २१ पथलैया–अमलेखगंज सडक खण्ड नजिक घाँस काट्न गएका कृष्णकुमार शर्मा मृत अवस्थामा फेला परेका थिए । उनीहरुको बाघको आक्रमणबाट ज्यान गएको स्थानीयको भनाई छ ।

त्यसैगरी हराएको केही दिनपछि स्थानीय रमेश कार्कीको शव पनि जंगलमा नै फेला परेको थियो भने भाद्र २२ गते च्याउ टिप्न गएका सिमराका छेवाङ लामाको बाघको आक्रमणमा परी ज्यान गएको थियो ।
नरभक्षी बाघ नियन्त्रणमा लिन डिभिजन वन कार्यालय बारा र पर्सा राष्ट्रिय निकुञ्जले संयुक्त रूपमा प्रयास गर्दैआएको छ । बाघको पहिचानका लागि वन क्षेत्रकाविभिन्न स्थानमा क्यामरा जडान गरेर ट्र्यापिङ्ग कार्य हुदैआएको डिभिजन वन कार्यालय बाराका प्रमुख राजिवकुमार झाले जानकारी दिनुभएको छ ।
त्यसैगरी बाघ नियन्त्रणमा लिन चितवनबाट विशेष डार्टिङ टोली र निकुञ्जको हात्तीसहितको सुरक्षाकर्मी परिचालनगरिएको छ । बाघ नियन्त्रणमा लिन जंगलमाजिवित पाडोको प्रयोग गरिएको भएपनि हालसम्म सबै प्रयास फलदायी हुन नसकेको डिभिजन वन कार्यालय बाराका डिभिजनल वन अधिकृत झाको भनाई छ । जंगलमा राखिएको भैसीको पाडो खान आउने र बाघ नियन्त्रणमा लिन सजिलो हुने विश्वासमा जंगलमा बाँधेर राखिएको उहाँको भनाई छ ।यसैबीचवन कार्यालय र पर्सा राष्ट्रिय निकुञ्जले स्थानीयवासीलाईसतर्क रहन आग्रह गर्दै सूचना जारी गरेको छ । दुबै कार्यालयहरुले वन क्षेत्रमा अनावश्यक प्रवेश नगर्न, च्याउ टिप्न वा अन्य काममा जाँदा समूहगत रूपमा मात्र जान र प्रभावित क्षेत्रमा यातायात आवागमन आवश्यकतानुसार रोक्ने व्यवस्था मिलाइएको जनाएका छन ।निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले स्थानीय तह, सुरक्षा निकाय तथा उपभोक्ता समूहहरूसँग सहकार्य गर्दै समस्या समाधानको लागि पहल भइरहेको बताउनुभएको छ ।



















