वीरगन्ज,कथित बोक्सीको आरोपमा पर्सामा फेरि एक दलित महिलामाथि कुटपिट भएको छ ।जिल्लाको जगरनाथपुर गाउँपालिकाकी एक दलित महिलामाथि निर्घात कुटपिट भएको हो । जगरनाथपुर गाउँपालिका–३ खलुचडी बस्ने ६० वर्षीया सुदामा देवी चमइनलाई सोही स्थानका चार जनाले निर्घात कुटपिट गरेका हुन् ।आइतबार बेलुका ७ बजेतिर आफ्नै घरमा आगो तापेर बसिरहेका बेला सुदामा देवीलाई सोही स्थान बस्ने नबी आलम राउत गदी, रैफुल मास्टर राउत गदी, बासदेव महरा चमार र सुरेश महरा चमारले कुटपिट गरेको पीडितका छोरा प्रभु महराले जानकारी दिनुभयो । पहिलेदेखि नै आफ्नी आमालाई उनीहरुले बोक्सीको आरोप लगाउँदै आएको उहाँले बताउनुभयो । उनीहरुले मलमुत्रसमेत खुवाउने प्रयास गरेपछि गाउँलेले उद्धार गरेको महराले बताउनुभयो ।क‍ुटपिटबाट घाइते सुदामा देवीको घाँटी, हातखुट्टालगायतमा चोट लागेको तथा उहाँको नारायणी अस्पतालमा भइरहेको परिवारजनले बताएका छन् । कुटपिटमा संलग्न रहेका चारै जनाविरुद्ध प्रहरीमा उजुरी दिएको महराले बताउनुभयो । कुटपिटमा संलग्न भएका चारै जना गाउँ छाडेर फरार भएको र उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Leave a Reply