कलैया, जनता समाजवाद पार्टी (जसपा) को संसदीय दलको नेतामा रामसहायप्रसाद यादव सर्वसम्मरूपमा चयन हुनुभएको छ । यादव बारा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुनुहुन्छ ।बुधवार यादवलाई संसदीय दलको नेतामा सर्वसम्मतरूपमा चयन गरिएको पार्टीले जनाएको छ । उहाँ पार्टी अध्यक्ष उपेन्द्र यादव निकट मानिनुहुन्छ ।यसअघि दलको नेता छान्न निर्वाचन कार्यतालिकासमेत तय भएको थियो । तर अन्तिम समयमा सहमतिमै दलको नेता चयन गरिएको हो । दलको नेतामा यादवसहित सङ्घीय परिषद् अध्यक्ष अशोक राई र नेता राजकिशोर यादवको दाबी रहेको थियो ।नवनिर्वाचित संसदीय दलका नेता यादवले संसदमा पार्टीको भूमिकालाई सशक्त बनाउने बताउनुभयो । दलको नेतामा निर्वाचित भएसँगै सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले पार्टीको एजेन्डा दृष्टिकोण र विचारलाई संसदमा सशक्त ढङ्गले उठाउने बताउनुभएको हो ।प्रतिनिधि सभामा जसपाका १२ जना सांसद छन् । जसपाले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको छ ।



















