वीरगन्ज,नेपाल राष्ट्र बैंकको चालु पूँजी कर्जा निर्देशिका तथा बैंकहरुको चर्को ब्याज दरका विरुद्ध आन्दोलनमा उत्रिएको वीरगन्ज उद्योग वाणिज्य सङ्घले नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय अगाडि धर्ना दिनुका साथै हातमा कालोपट्टी बाँधेर बिरोध जनाएको छ ।वीरगन्ज उद्योग बाणिज्य सङ्घको कार्यालयबाट निस्केको ¥यालीमा सहभागी व्यवसायीहरुले नगर परिक्रमा गर्दै आदर्शनगरस्थित राष्ट्र बैंकको कार्यालयअगाडि पुगेर धर्ना दिएका थिए ।धर्ना कार्यक्रममा सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासङ्घ मधेश प्रदेशका अध्यक्ष गणेशप्रसाद लाठ, वीउवासङ्घका पूर्वअध्यक्ष अशोककुमार टेमानी, सचिव आशीष लाठ, होटल व्यवसायी सङ्घका अध्यक्ष हरि पन्त, लुब्रिकेन्ट व्यवसायी सङ्घ, पर्साका अध्यक्ष विकाश ठाकुर, नेपाल औषधि व्यवसायी सङ्घ, पर्साका अध्यक्ष ताजुदिन अंसारी, किराना व्यवसायी सङ्घका अध्यक्ष शंकर कुशवाहा लगायतले अव्यवहारिक चर्को ब्याज दर र चालुपूँजी कर्जा निर्देशिका तथा निजी क्षेत्रका व्यवसायी विरोधी प्रावधान हटाउन माग गरेका थिए ।बैंक तथा वित्तीय संस्थाको चर्को ब्याज दर र राष्ट्र बैंकको अव्यवहारिक निर्देशिका तत्काल संशोधन गरेर उद्योग व्यापारलाई राहत दिनुपर्नेमा वक्तहरुले जोड दिएका थिए । व्यवसायीहरुले आफ्ना माग पूरा तत्काल पुरा नभए सशक्त आन्दोलनमा जाने चेतावनी समेत दिएका छन् । कार्यक्रमका सहजीकरण वीउवासङ्घका मनोज उपाध्यायले गर्नुभएको थियो ।बिरोध कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्य, उद्योगी, व्यापारी, नागरिक समाज, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।यसअघि सङ्घले मंगलवार चर्को ब्याज दर र चालु पूँजी कर्जाको साङ्केतिक बिरोध स्वरुप वीरगन्ज उद्योग बाणिज्य सङ्घको कार्यालय र नेपाल राष्ट्र बैंकको मुख्य द्वारअगाडि विभिन्न नाराहरु लेखिएको ब्यानरहरु झुण्डयाइएको थियो ।

















