वीरगन्ज,वीरगन्ज महानगरपालिकाभित्रका सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधार गर्न महानगरले अनुगमनलाई निरन्तरता दिएको छ ।महानगरका मेयर राजेशमान सिंहले सामुदायिक विद्यालयको अनुगमनलाई सोमवार पनि जारी राख्नुभएको छ । निर्वाचनका बेला जनताबीच शिक्षामा आमुल परिवर्तन गर्ने प्रतिबद्धता जनाएको स्मरण गर्दै मेयर सिंहले त्यसलाई सार्थक बनाउन सामुदायिक विद्यालयको अनुमनलाई निरन्तरता दिएको बताउनुभयो ।सामुदायिक विद्यालयको शैक्षिक अवस्था गुणस्तरीय र विश्वसनीय बनाउन कुनै कसर बाँकी नराख्ने भन्दै सिंहले विद्यालयको कक्षाकोठामै पुगेर विद्यार्थीसँग पठनपाठनको बारेमा जानकारी लिनुभएको हो ।मंगलवार मेयर सिंह छड्के अनुगमनका लागि घण्टाघर नजिकै रहेको नेपाल रेल्वे माध्यमिक विद्यानलयमा पुग्नुभएको छ । मध्यान्ह १२ बज्दै गर्दा विद्यालय छिर्नुभएका मेयर सिंहले त्यहाँ झण्डै १ घण्टा बिताउनुभयो ।कक्षा ९ मा पुगेर मेयर सिंहले पठनपाठनमा र समग्र विद्यालयमा भएका समस्याका सम्बन्धमा प्रश्न सोध्नुभएको थियो । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल र महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले विद्यार्थीसँग नजिकिँदै उनीहरुको सबैभन्दा मन पर्ने विषयका बारेमा सामान्य जिज्ञासा र प्रश्न सोध्नुभएको थियो ।सो अवसरमा अधिकांश विद्यार्थीहरुले विषय शिक्षक नहुँदा पठन पाठनमा समस्या भएको, परीक्षा शुल्क लिने गरेको जस्ता गुनासा राखेका थिए ।यस्तै कतिपय शिक्षक समयभन्दा ढिला आएर समय सकिनु भन्दा अघि नै निस्केर जाने गरेकाले पढाईमा पनि असर परेको विद्यार्थीहरुले बताएका छन ।अनुगमनमा पुगेका मेयर सिंहले आफूसँग कुनै डर नमानी समस्या राख्न भनेपछि विद्यार्थीहरुले विद्यालयको झ्याल ढोका ठिक नभएकोदेखि शौचालयको समस्यासम्म सुनाउन भ्याएका छन । कक्षामा अध्यापनका क्रममा शिक्षकहरुले मोबाइलमा कुरा गर्ने गरेको पनि विद्यार्थीले खुलासा गरेका छन ।त्यसपछि कक्षा ८ मा पुगेर विद्यार्थीसँग कुराकानी गर्दा अझैसम्म पनि पाठ्यपुस्तक नपाएको एक विद्यार्थीले गुनासो गरेका थिए । आफूले पटक पटक शिक्षकसँग पुस्तक नभएको बताए पनि पुस्तक उपलब्ध गराउन आनाकानी गरेको भन्दै समस्या राखेपछि तत्काल पुस्तक उपलब्ध गराउन मेयर सिंहले प्रधानाध्यापक मुनिलाल कर्णलाई निर्देशन दिनुभयो ।त्यस्तै छात्राहरुले अझैसम्म पनि विद्यालयमा प्याड उपलब्ध नभएको भन्दै छिटो व्यवस्था मिलाइदिन आग्रह गरेका थिए । जवाफमा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेलले अबको २,३ दिनभित्रै हरेक विद्यालयमा प्याड उपलब्ध हुने गरी व्यवस्था मिलाइएको बताउनुभयो ।मेयर सिंह, प्रमुख प्रशासकीय अधिकृत पौडेल र शैक्षिक प्रशासन महाशाखा प्रमुख कर्णले विद्यालयमा शिक्षक र विद्यार्थीहरुको हाजिरी रजिष्टार पनि चेकजाँच गरेका थिए ।शिक्षकहरुको लागि विद्युतिय हाजिरी सञ्चालन गर्न र समयमा कक्षाकोठामा नपुग्ने शिक्षकलाई कारबाही गर्न मेयर सिंहले प्रधानाध्यापक कर्णलाई निर्देशन दिनुभयो । लगातार ३ दिनसम्म अनुपस्थित हुने विद्यार्थीको अभिभावकलाई खबर गरेर कारण सोध्नुपर्ने नियममै व्यवस्था भएको हुँदा अनुपस्थित हुनेको हाजिरीबाटै नाम हटाउन शैक्षिक प्रशासन महाशाखा प्रमुख कर्णले निर्देशन दिनुभएको छ ।मेयर सिंहले विद्यालयको भवन निर्माण कार्य अधुरै रहेको र प्राङण पनि मर्मत गर्नु पर्ने देखिएकाले त्यसको निर्माणका लागि आवश्यक इस्टिमेट तयार पारेर महानगरमा पेश गर्न प्रधानाध्यापक कर्णसंग आग्रह गर्नुभयो ।अनुगमनका क्रममा विद्यालयका प्रधानाध्यापक कर्णले उपलब्ध साधन स्रोतमै विद्यालयको शैक्षिक गुणस्तर टिकाइरहन काम गरिरहेको प्रतिकृया दिनुभयो ।

Leave a Reply