कलैया,बारा प्रहरीले विभिन्न मुद्दामा फरार रहेका ६ जना प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले मंगलबार एक प्रेस विज्ञप्ति जारी गरी फरार प्रतिवादी पक्राउ परेको जानकारी दिनुभएको हो ।प्रहरी कारबाहीको सिलसिलामा बारा जिल्ला अदालत कलैयाबाट दण्ड सजाय तोकिएका र वारदात पश्चात फरार रहेको अवस्थामा खोज तलास गरी लुकिछिपी बसेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बारा तथा मातहतसमेतबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
चेक अनादर मुद्दामा एक महिना कैद र ३ हजार रुपैयाँ दण्ड सजाय पाएका कलैया उपमहानगरपालिका वडा नम्बर १९ का ४९ वर्षीय ओसि महम्मद ठकुराईलाई प्रहरीले पक्राउ गरेको हो । सोही मुद्दामा २ हजार ५ सय रुपैयाँ जरिवाना तोकिएका कलैया उपमहानगरपालिका वडा नम्बर ६ का ६५ वर्षीय मोहनलालप्रसाद साहलाई पक्राउ गरिएको हो ।
त्यसैगरी चेक अनादर मुद्दामा ५ सय रुपैयाँ जरिवाना फैसला भएका कलैया उपमहानगरपालिका वडा नम्बर ६ का ४६ वर्षिय महावीरकुमार गुप्ता र चेक अनादर मुद्दामा ५ सय रुपैयाँ जरिवाना पाएका कलैया उपमहानगरपालिका वडा नम्बर ३ का रोहित मिललाई पनि पक्राउ परेका छन ।
त्यस्तै नकवजनी मुद्दामा ५ हजार रुपैयाँ जरिवाना तोकिएका कलैया उपमहानगरपालिका वडा नम्बर ६ का ३५ वर्षीय राजा हुसेन मिया धोवीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
त्यसैगरी बैंकिङ कसुर मुद्दामा १ महिना कैद र १ लाख ५० हजार रुपैयाँ जरिवाना फैसला भएका कलैया उपमहानगरपालिका वडा नम्बर ३ का ४२ वर्षीय राधेश्याम पटेललाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकामाथि आवश्यक कारबाहीको लागि प्रहरीले बारा जिल्ला अदालतमा पेस गरेको छ ।
बारामा अनधिकृत प्रयोग भएका सात विद्युत मोटर नियन्त्रणमा
कलैया,नेपाल विद्युत प्राधिकरण कलैयाको टोलीले बारा जिल्लामा अनधिकृत रूपमा विद्युत चोरी गरी सिँचाइमा प्रयोग गरिएका सात थान विद्युत मोटर नियन्त्रणमा लिएको छ ।नेपाल विद्युत प्राधिकरण कलैया वितरण केन्द्र र सुरक्षाकर्मीको संयुक्त टोलीले बारा जिल्लाका विभिन्न स्थानमा सञ्चालनमा रहेका ती मोटरहरू मंगलवार नियन्त्रणमा लिएको हो ।कलैया वितरण केन्द्रका सुपरभाइजर दीपेन्द्रकुमार साहका अनुसार कलैया वितरण केन्द्र क्षेत्रभित्रका विभिन्न स्थानबाट १ एच.पी. का ५ थान सिँचाइ मोटर, २ एच.पी. का २ थान मोटर, १ पङ्खा, १ स्पिकर र १ फर्निचर मेसिन बरामद गरिएको छ ।
साहका अनुसार मोटरका धनी सम्पर्कमा आएमा जरिवाना तिरेर फिर्ता गरिने व्यवस्था छ, अन्यथा ती सामग्री जफत गरिने छ । उहाँले विद्युत चुहावट नियन्त्रण अभियानलाई थप कडाइका साथ अघि बढाइने बताउनुभएको छ ।


















