काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीले सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि सोमबार हुने भनिएको सुनुवाइ स्थगित भएको छ।

रिटमा विपक्षी बनाइएका नवनियुक्त प्रहरी महानिरीक्षक डा। मनोजकुमार केसीलाई अदालतको म्याद बुझाउन बाँकी रहेपछि सुनुवाइ रोकिएको हो।

यसअघि सर्वोच्च अदालतले डा. केसीलाई म्याद बुझाउन पठाएको थियो। तर, उनको पद प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उल्लेख भएको भन्दै प्रहरी प्रधान कार्यालयले म्याद बुझ्न अस्वीकार गरेको थियो।

त्यसपछि निवर्तमान आईजीपी कार्कीले सर्वोच्च अदालतमा अर्को निवेदन दिएका थिए। उक्त निवेदनका आधारमा डा. केसी प्रहरी महानिरीक्षक रहेको तथ्यअनुसार निवेदन र आदेशमा रहेको विवरण सच्याइएको थियो।

अदालतको विवरण सच्याइएपछि डा. केसीलाई म्याद बुझाउने प्रक्रिया अघि बढाउनुपर्ने भएकाले सोमबारका लागि तय भएको सुनुवाइ स्थगित भएको हो।

सर्वोच्च अदालतले रिटमाथि अर्को सुनुवाइको मिति भने तोकिसकेको छैन।

Leave a Reply