वीरगन्ज,वीरगन्जको नारायणी अस्पतालमा २२ शैया (बेड) को छुट्टै डायलेसिस वार्ड सन्चालनमा ल्याइएको छ ।

अस्पतालमा यसअघि एउटा कोठामा ७ वटा मात्र मेसिन राखेर डायलेसिस सेवा सन्चालन गरिएकोमा थप १५ वटा मेसिन जडान गरि २२ बेडको डायलोसिस वार्ड सन्चालनमा ल्याइएको हो ।

सिद्धार्थ बैंकले अस्पतालकै आकस्मिक उपचार कक्ष भवन माथिको तल्लामा ५५ लाख रुपैयाको लागतमा निर्माण गरि दिएको भवनमा २२ बेडको डायलोसिस वार्ड सन्चालनमा ल्याइएको अस्पतालका सूचना अधिकारी डाक्टर उदय नारायण सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार, यसअघि अस्पतालको एउटा साँघुरो कोठामा ७ वटा मात्र डायलोसिस मेसिन राखेर सेवा सन्चालन गरिएको थियो । तर, अहिले स्वास्थ्य मन्त्रालयले थप १५ वटा नयाँ मेसिन उपलब्ध गराएपछि छु््ट्टै भवनमा आकस्मिक डायलोसिस सेवा सहितको २२ बेडको वार्ड सन्चालनमा ल्याइएको डाक्टर सिंहले बताउनुभयो । सिंहका अनुसार, यसअघि ७ वटा मात्रै मेसिनबाट सेवा प्रवाह हुदा नियमित सेवा लिइरहेका बिरामीले मात्रै डायलोसिस सेवा लिदै आएका थिए । आकस्मिक सेवा उपलब्ध थिएन । तर अब डायलोसिस् वार्डमा दुइ वटा बेड आकस्मिक सेवाका लागि छुट्याइएको छ ।

त्यस्तै हेपाटाइटीस् र एचआइभिका संक्रमित बिरामीका लागि पनि दुइ वटा बेड छुट्याएर राखिएको अस्पतालका मेडिकल सुपरिडेन्टेण्ट (मेसु) डाक्टर वीरेन्द्र प्रधानले जानकारी दिनुभयो । यसअघि हेपाटाइटीस् र एचआइभिका संक्रमितका लागि मधेस प्रदेशमै डायलोसिस सेवा उपलब्ध थिएन । उनीहरुलाई डायलोसिस् सेवाका लागि कि त काठमाण्डौ कि त धरान जानु पर्ने बाध्यता थियो । तर अब भने नारायणी अस्पतालमै उनिहरुले सेवा पाउने भएको अस्पतालका मेसु डाक्टर प्रधानले बताउनुभयो ।

नारायणी अस्पतालमा यसअघि २४ जना मात्र मृगौला रोगीले नियमित डायलोसिस् सेवा लिदै आएका थिए । तर अब २२ बेडको वार्ड सन्चालनमा आएपछि भने कम्तिमा ५० जनाले नियमित सेवा लिन पाउने मेसु प्रधानले जानकारी दिनुभयो । सरकारको निर्णय अनुसार अस्पतालले नियमित सेवा लिइरहेका मृगौलाका दीर्घ रोगीका लागि डायलोसिस् सेवा उपलब्ध गराउदै आएको छ । यस्तै आकस्मिक डायलोसिस् सेवा लिनेको हकमा भने अस्पतालले एक पटकको लागि ५ हजार रुपैया शुल्क तोकेको छ । जबकी नीजी स्वास्थ्य संस्थाले भने न्युनतम १० देखि १२ हजार रुपैया शुल्क लिदै आएका छन् ।

Leave a Reply