रौतहट,विद्युत महसुल नतिर्ने रौतहटका ३० वटा सामुदायिक विद्यालयको बिजुलीको लाइन विद्युत प्राधिकरणले काटेको छ ।नेपाल प्राधिकरणले विद्युत लाइन काटेप गर्मीका कारण समस्या बेहोर्दैआएका विद्यार्थीहरु थप समस्यामा परेका छन ।
नेपाल विद्युत प्राधिकरण चन्द्रपुर शाखा अन्तर्गत चन्द्रपुर, गुजारा, र वृन्दावन नगरपालिकामा रहेका सामुदायिक विद्यालयहरुको लाइन काटेको हो । विद्यालयको नाममा जडान गरिएका मिटरहरुमा विद्युत महसुल धेरै उठेको र महशुल भुक्तानीको लागि पटक पटक ताकेता गर्दा पनि नतिरेपछि बाध्य भएर लाइन काटेको नेपाल विद्युत प्राधिकरण चन्द्रनिगापुर शाखाका प्रमुख धीरेन्द्र यादवले बताउनुभएको छ ।

नेपाल विद्युत प्राधिकरणले चन्द्रपुर नगरपालिकामा रहेको दुर्गा माध्यमिक विद्यालय ठाडाटोल, रैयाटोल माध्यमिक विद्यालय चन्द्रपुर २, कृष्ण माध्यमिक विद्यालय बालचनपुर, कंकाली माध्यमिक विद्यालय जङ्गलसैया, बतहु माध्यमिक विद्यालय हरसाहलगायतका ३० वटा सामुदायिक विद्यालयको विद्युत लाइन काटेको हो । नेपाल विद्युत प्राधिकरण चन्द्रपुर शाखाले सामुदायिक विद्यालयहरुको लाइन काटेपछि ती विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरु पङ्खा चलाउन नपाउदा गर्मीमा थप पीडित बनेका छन ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा विद्यालयका प्रधानाध्यापकहरुले विद्युत महसुल तिर्नेतर्फ ध्यान नदिएका कारण विद्यालयको लाइन काटिएको हो । विद्यालयको लाइन काटिएपछि विद्यार्थीहरु बिना पङ्खा अध्ययन गर्न बाध्य भएका छन् । गर्मी बढेर समस्या भएको बेला विद्यालयमा बिजुलीको लाइन काटिएपछि आफूहरु कक्षाकोठामा बसेर पढ्न नसक्ने अवस्थामा पुगेको कृष्ण मावि बालचनपुरका विद्यार्थी हरिकृष्ण चौधरी दुखेसो पोख्नुभएको छ ।विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकहरुले विद्युत महसुल तिर्न ध्यान नदिएका कारण विद्युत प्राधिकरणले बाध्य भएर सामुदायिक विद्यालयको विद्युतको लाइन काट्नु परेको प्रमुख यादवको भनाई छ । यतिबेला जिल्लाका अधिकांश ठाउँको तापक्रम ४० डिग्रीभन्दा माथि मापन हुदैआएको छ ।


















