हालै मुलुकका दुई ठूला पार्टी एमाले र कांग्रेसको महाधिवेशनमा प्रयोग भएको प्रचार शैली र सामग्रीले सूचना र प्रविधिको युगलाई गिज्याइरहेको छ । यी दुवै पार्टीको महाधिवेशनमा ब्यानर, भित्तेलेखन, पोस्टर, तुल र पर्चाको व्यापक प्रयोग भएको छ ।

एमालेको चितवन र कांग्रेसको काठमाडौंमा भएको महाधिवेशनमा प्रयोग भएका प्रचार सामग्रीले मतदाता तान्नेभन्दा पनि महाधिवेशन स्थललाई फोहोर र कुरूप बनाएका थिए । परम्परागत शैलीका भद्दा पर्चा र पम्प्लेटले पुरानै युगको झल्को दिन्थ्यो ।
पक्कै पनि चुनावमा प्रचार प्रसारको आवश्यकता पर्छ । उम्मेदवारले आफ्ना एजेन्डा राख्ने र मतदातालाई प्रभावमा पार्न प्रचार सामग्रीको प्रयोग हुन्छ नै । तर, बदलिँदो समय, आधुनिक सूचना र प्रविधिको युग सुहाउँदो प्रचार सामग्रीमा ध्यान दिनै पर्छ । राजनीतिक दल र नेता भनेका समाज परिवर्तनका वाहक हुन् । उनीहरूका शैली, गतिविधि र संस्कारबाट समाजले सिक्ने र पछ्याउने गर्छ । बोल्दा, लेख्दा वा नीति निर्माण गर्दा समाजमा के प्रभाव पर्छ, समाजमा कस्तो सन्देश पुग्छ भन्ने कुराको हेक्का राजनीतिक दल र नेताहरूले राख्नै पर्छ ।
देशको मूल नीति भनेकै राजनीति हो । समाज जस्तोसुकै भए पनि राजनीतिक नेतृत्वसँग समाजले उच्च नैतिकता र चरित्रको अपेक्षा राख्छ । राजनीतिक दलले समाजलाई सधैं अग्रगमन, विकास र परिवर्तनका लागि अग्रसर बनाउनै पर्छ । समाजलाई सही बाटो, सही नीति र सही नेतृत्व दिन नसके राजनीति नै बदनाम हुन्छ । त्यसो भयो भने समाज परिवर्तन केवल मृगतृष्णा मात्र बन्छ ।














